एन्जिला तुम्बाप्पो सुब्बा

एन्जिला राष्ट्रिय महिला टिमको नयाँ कप्तान

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीको कप्तान जिम्मेवारी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले पाएकी छिन् । मंगलबारबाट सुरु हुने साफ महिला च्याम्पिनसिपअघि मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई नयाँ कप्तान नियुक्त गरेका हुन् ।

यससँगै २६ वर्षीय एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तान जिम्मेवारी पाएकी हुन् । सन् २०१९ मा भारतमा आयोजना भएको हिरो गोल्डकपमा एन्जिलाले कार्यवहाक कप्तानको जिम्मेवारी निभाएकी थिइन् । फाइनलमा म्यानमारविरुद्ध र समूह चरणमा भारतलाई २-१ ले पराजित गर्दा एन्जिला कार्यवहाक कप्तान थिइन् ।  

कप्तान भएसँगै एन्जिलाले जिम्मेवारी थपिएको र टिमलाई घरेलु मैदानमा उपाधि जिताउन सहयोग गर्ने खेलाडीलाई बताइन्, ‘कप्तान जिम्मेवारी पाउँदा खुसी छु । अब, टिमको गोलपोष्टको मात्रै जिम्मा हैन । पूरा टिमको जिम्मेवारी काधमा आएको छ । जिम्मेवारी बढेको छ,’ एन्जिलाले भनिन् ।

सन् २०१६ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपसँगै राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेकी एन्जिला त्यसयता टोलीको नियमित गोलरक्षक हुन् । नेपालको यु १४ उमेर समूहबाट समेत खेलेकी एन्जिलाले हालसमा राष्ट्रिय टिमबाट ३१ क्याप जितेकी छिन् । र, अझै पनि उनी राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य हुन् ।

चीनमा आयोजना हुने १९औं एसियन गेम्सको अभ्यास क्रममा गत महिना नियमित कप्तान रेणुका नगरकोटेले चोट बोकेकी थिइन् । त्यसयता नेपाली टिम कप्तानविहिन थियो । पछिल्लो समय अनुभव र सिनियरको आधारमा प्रशिक्षक थापाले एन्जिललाई जिम्मेवारी सुम्पिएका हुन् । ‘सम्भवतः एन्जिला नै कप्तान हो ।’ थापाले कप्तानको विषयमा छोटो प्रतिक्रिया दिए ।

७ टिम सहभागी साफ च्याम्पियनसिप मंगलबार देखि ३ असोजसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुँदैछ । दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले २१ भदौमा भुटान र २७ भदौमा श्रीलंकासँग खेल्नेछ ।

एन्जिला महिला टिमको नवौं कप्तान

३० को दशकमा नेपाली महिला टोलीले पहिलो खेल दार्जिलिङ ११ विरुद्ध खेलेको थियो । राजा शुभजन्मोत्सवमा खेलिएको पहिलो खेलमा १-१ को बराबरी खेलेको नेपाली टिमले दोस्रो खेलमा २-१ को जित निकालेको थियो । नेपाली टिमले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपबाट पहिलो अन्तरराष्ट्रिय खेल खेल्यो । रमा सिंहको कप्तानीमा नेपालले हङकङ, थाइल्यान्ड र इन्डोनेसियासँग खेलेको थियो ।

त्यसपछि नेपाली टिमको कप्तान कमला हिराचन र मिरा चौधरीले गरेका थिए । यसपछि महिला फुटबल हुनै छाड्यो । सन् २०१० यता भने नेपाली महिला टिमले साग र साफ सहित विभिन्न प्रतियोगितामा निरन्तर खेल्दै आएको छ ।

सन् २०१० पछि नेपाली टिमले अन्तरराष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदा जमुना गुरुङले कप्तानी गरिन् । यसपछि, क्रमशः चन्द्रा भण्डारी अनु लामा, निरू थापा र रेणुका नगरकोटेले ‘आर्म ब्यान्ड’ लगाएका छन् ।