रोजर फेडेरर

शताब्दीकै खराब अवस्थामा फेडेरर

ज्युरिच । एटिपी वरीयताको म्याद समाप्त भएसँगै चर्चित टेनिस स्टार रोजर फेडेरर २१औं शताब्दीकै खराव अवस्थामा पुगेका छन् ।

फेडेरर २१औं शताब्दीमा पहिलो पटक एटिपी वरीयताको शीर्ष १०० भित्र पर्न असफल भए । यसअघिको वरीयताको म्याद समाप्त भएसँगै फेडेरर एटिपीको वरीयताबाट बाहिरिएका हुन् ।

स्विट्जरल्यान्डका ४० वर्षीय फेडेररले सन् २०२१ को विम्बल्डनको क्वार्टरफाइनलमा हुबर्ट हुकार्जसँग सोझो सेटमा पराजित भएका थिए । त्यसको केही समयपछि घुँडाको शल्यक्रिया गराएसँगै हालसम्म कोर्टबाट बाहिर रहेका फेडेररले यसअघि २०२० मा पनि सोही समस्याका कारण विम्बल्डन खेलेका थिएनन् ।

२० पटकका ग्रान्डस्लाम विजेता फेडेररले अहिले नै सन्यासको योजना नभएको बताउँदै २०२३ मा एटिपी टुरमा पुनरागमन गर्ने जानकारी दिएका थिए ।

पछिल्लो एक वर्षदेखि कोर्टबाट बाहिर रहेका फेडेरर लगभग २३ वर्षमा पहिलो पटक एटिपीको वरीयतामा नसमेटिएका हुन् ।