विम्बल्डन

युएस ओपन खेल्न पाउनेमा आशावादी जोकोभिच

लन्डन । कीर्तिमानी सातौं पटक विम्बल्डनको उपाधि जितेका नोभाक जोकोभिच युएस ओपनको नीति परिवर्तन भएर खेल्न पाउने आशामा छन् ।

आइतबार राति २१औं पटक ग्रान्डस्लाम जितेका जोकोभिचले विम्बल्डनको फाइनलमा निक किर्गियोसलाई हराएका थिए । जोकोभिच पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम विजेता राफेल नाडालको (२२औं पटक) कीर्तिमान नजिक पुगेका छन् ।

३२ पटक ग्रान्ड स्लामको फाइनलमा प्रतिस्पर्धा गरेका सर्बियन खेलाडी जोकोभिचले अस्ट्रेलियन खेलाडी किर्गियोसलाई ४–६, ६–३, ६–४, ७–६ (७–३) मा हराएका थिए ।

कोभिड १९ को खोप लगाउन अस्वीकार गरेपछि जनवरीमा भएको अस्ट्रेलियन ओपनबाट विश्व नम्बर एक जोकोभिचलाई निष्कासित गरिएको थियो । मार्चमा भएको इन्डियन वेल्स पनि उनले गुमाउनु परेको थियो ।

‘यो एक अनौठो स्थिति हो । म अहिले बिदामा छु । म थकित छु त्यसैले यो आराम गर्ने समय हो । मैले जे चाहेको थिएँ, त्यो पाएको छु,’ जोकोभिचले भने, ‘युएसबाट राम्रो खबर आउने आशाको पर्खाइमा छु । मैले खोप लगाएको छैन र लगाउने योजनामा पनि छैन ।’