विम्बल्डन

विम्बल्डनः नाडाल सेमिफाइनलमा

लन्डन । पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराएर सेमिफाइनलको टिकट काटेपछि राफेल नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको उपाधि जित्ने सम्भावनालाई कायम राखेका छन् ।

बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए ।

पछिल्लो समय निरन्तर फिजियोको निगरानीमा रहेका नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे ।

वर्षको सुरुआतमा भएको इन्डियन्स वेल्सको फाइनलमा पराजित गर्दै फ्रिड्जले नाडालको २०–० को अपराजित यात्रा टुङ्ग्यएका थिए । तर, बुधबार भने उक्त लयलाई कायम राख्न सकेनन् ।

जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । नाडालले पछिल्लो पटक सन् २०१० मा विम्बल्डनको उपाधि जितेका थिए ।