बडोसा

विम्बल्डन: चौथो वरीयताकी बडोसा तेस्रो चरणमा

लन्डन । विश्व वरीयताको चौथो स्थानकी पउला बडोसा वर्षको तेस्रो ग्रान्डस्लामको तेस्रो चरणमा पुगेकी छन् । लन्डनमा बिहीबार भएको दोस्रो चरणको खेलमा रोमानियाकी इरिना बारालाई ६–३ ६–२ को सोझो सेटमा पराजित गर्दै बडोसा लगातार दोस्रो पटक विम्बल्डनको तेस्रो चरणम पुगेकी हुन् ।

स्पेनिस २४ वर्षीया बडोसा गत वर्ष चौथो चरणबाट बाहिरिएकी थिइन् । सन् २०१९ को अस्ट्रेलियन ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी बडोसा अघिल्लो वर्ष फ्रेन्च ओपनको क्वार्टरफाइलनसम्म पुगेकी थिइन् ।

ग्रान्डस्लाममा त्यो नै बडोसाको उत्कृष्ट नतिजा हो । बडोसाले अन्तिम १६ प्रवेशका लागि चेक रिपब्लिककी पेट्रा किभिटोभासँग खेल्ने छिन् ।

विश्व वरीयताको २६औं स्थानकी किभिटोभा दोस्रो चरणमा रोमानियाकी एना बोग्डनलाई ६–१ ७–६ (७–५)को नजितामा पराजित गरेकी थिइन् ।