राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता

खुला टेबल टेनिस प्रतियोगिताः विश्वलाई स्वर्ण

काठमाडौं । कोशी बहुमुखी क्याम्पसका विश्व बानियाँले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता अन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा  स्वर्ण जितेका  छन् ।

काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार विश्वले गोल्डेनगेटका रुविन महर्जनलाई ७-११, ११-५, ११-८, ६-११ र १५-१३ को सेटमा पराजित गरे । मेगा कलेज, धरानका सिद्धार्थ तामाङ र गोल्डेनगेटका सुदन गडाल तेश्रो भए ।

भइरहेको प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मियाकीले फाइनलमा उदयमोहन श्रेष्ठलाई ११-६, १२-१० र १४-१२ को सोझो सेटमा हराउदै स्वर्ण जिते । मदन आचार्य र बलराम सापकोटा तेश्रो बने । 

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र वज्राचार्य पहिलो भए । उनले फाइनलमा निशान प्रधानको चुनौती ११-६, ११-८ र ११-८ को सोझो सेटमा पन्छाए । किरणमुनी वज्राचार्य र नदिमरत्न शाक्य तेश्रो स्थानमा रहे ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्स फाइनलमा इन्दिरा पौडेल पराजुलीले सम्झना पोखरेललाई सीधा सेटमा ११-७, ११-३ र ११-९ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् ।