मेयर कप तेक्वान्दो प्रतियोगिता

मेयर कप तेक्वान्दोः प्रशान्त र प्रगतीलाई स्वर्ण

काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगती कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २८ केजीमुनीको फाइनलमा प्रशान्तले नव मन्जुश्रीका रेवत प्रधानलाई पराजित गरे । 

यसैगरी महिला ३८ केजीमुनीको फाइनलमा प्रगतीले बोधी सदनकी सन्ध्या तामाङलाई हराइन् ।

जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नव मन्जुश्रीका सन्जिव जिरेल तथा ३६ केजीमुनीमा कोटेश्वरका इमोन राणा पहिलो भए ।

महिला ३० केजीमुनीमा  नव मन्जुश्रीकी सिस्तोला कुइकेल, ३४ केजीमुनीमा कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनीमा   फेरिल्यान्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनीमा गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनीमा नव मन्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हासिल गरे । 

प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुदको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । 

सो अवसरमा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले शाहसिक प्रस्तुती गर्ने क्रममा आफ्नो पेटमा एक सय ५० केजीको ढुंगा राखी फुटाएका थिए ।

दुईदिने प्रतियोगितामा १९ डोजाङका दुई सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।