ओलम्पिक टोलीको घोषणा, पाँच खेलाडी १७ पदाधिकारी

काठमाडौं, (खेलाडी)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानमा हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुने नेपाली टोलीको मंगलबार घोषणा गरेको छ । 

कोभिड १९ को विश्‍वव्यापी महामारीका कारण गत वर्ष हुने तय भएको ओलम्पिक स्थगित भएको थियो । निर्धारित समयभन्दा एक वर्ष पछि हुन लागेको विश्‍व खेलकुदको सबभन्दा ठूलो मेला यही जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । 

ओलम्पिकका लागि नेपालको सहभागिता तयारी पूरा भइसकेको जनाउँदै एनओसीले मंगलबार पत्रकार सम्मेलन गर्दै २६ सदस्यीय टोलीको घोषणा गरेको हो । 

नेपालले १९६४ को टोकियो ओलम्पिकबाट विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलामा सहभागिताको इतिहास सुरु गरेको थियो । ओलम्पिकमा १४औं पटक सहभागिता जनाउन लागेको नेपालले यसपाली पाँच खेलाडीलाई प्रतिस्पर्धामा उतार्दैछ । 

नेपालको प्रतिनिधित्व गर्दै पाँच खेलाडी र चार प्रशिक्षक तथा १७ पदाधिकारीले जापान भ्रमण गर्ने एनओसीले जनाएको छ । एनओसीका अनुसार नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जेन्डर ग्याडिगाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथलेटिकसकी सरस्वती चौधरी छन् । 

गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेन्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला एक सय मिटर दौडमा सहभागिता जनाउने छन् ।

पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्‍ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्लले प्रशिक्षकको हैसियतमा आफ्ना खेलाडीको नेतृत्व गर्नेछन् ।

पदाधिकारीहरुमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्‍ठ, महासचिव निलेन्द्रराज श्रेष्‍ठ, उपाध्यक्षहरु चतुरानन्द राज वैद्य, तेजबहादुर गुरुङ र सुनिलकुमार श्रेष्‍ठ, सहमहासचिव पिताम्बर तिम्सिना, सचिव तुलसी थापा तथा सदस्यद्धय प्रकाशसम्शेर राणा र राम अवाले छन् । 

यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने पनि नेपाली टोलीको अधिकारीका रुपमा जापान भ्रमणमा सहभागि हुनेछन् । 

राष्‍ट्रिय खेलकुद परिषदबाट उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, तथा सदस्यद्धय सुभाष श्रेष्‍ठ र सम्पन्‍न श्रेष्‍ठ ओलम्पिकको जम्बो पदाधिकारी टोलीको हिस्सा हुने छन् । एनओसीले परिषदका सदस्यसचिव सिलवाललाई सेभ दी मिसनको जिम्मेवारीमा नियुक्त गरेको छ । 

त्यस्तै चिकित्सक डा. नविशमान सिंह प्रधान, टोकियोस्थित नेपाली दुतावासका प्रेम रावल र स्वयंसेवक रुपेश डंगोलले पनि नेपाली टोलीको सदस्यका रुपमा ओलम्पिकमा सहभागिता जनाउनेछन् ।