१५ महिना सर्‍यो साग, १४औं संस्करण २०२३ मा पाकिस्तानले गर्ने

काठमाडौं, (खेलाडी)- दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेलमेला दक्षिण एसियाली खेलकुद (साग) को १४औं संस्करण २० महिनापछि पाकिस्तानमा हुने भएको छ । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को भर्चुअल बैठकले सोमबार १४औं साग पाकिस्तानमा २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । 

पाकिस्तानी ओलम्पिक कमिटी एवं एसएओसीका अध्यक्ष सइद आरिफ हसनको अध्यक्षतामा बसेको वैठकले प्रतियोगिताको मितिका साथै खेलसंख्या र आयोजनास्थलहरुको वारेमा प्रारम्भिक निर्णय गरेको थियो । 

एसएओसीका सबै सदस्य देशका ओलम्पिक कमिटीका महासचिवहरुको सहभागिता रहेको बैठकमा नेपालको प्रतिनिधित्व नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्‍ठले गरेका थिए । 

१४औं सागमा विभिन्‍न २७ खेलमा महिला तथा पुरुषले प्रतिस्पर्धा गर्नेछन् भने मुख्य खेलहरु पाकिस्तानको ऐतिहासिक नगरी लाहोरमा गरिनेछ । यसैगरी फैसलाबाद, गुजरनवाला, राजधानी इस्लामाबाद र सिलकोटमा पनि केही खेलका प्रतिस्पर्धा गराइने भएको छ । 

सागको १३औं संस्करण २०१९ को डिसेम्बरमा नेपालले काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरेको थियो । त्यसअनुसार १४औं संस्करण यही वर्षको अन्त्यसम्ममा हुनुपर्ने भए पनि कोभिड १९ महामारीका कारण १५ महिना पछि सार्नुपरेको हो । 

दक्षिण एसियाली देशहरुले प्रत्येक दुई वर्षमा पालैपालो गर्ने परम्परा रहेको यो खेलमेला आयोजना गर्ने पालो नेपालपछि पाकिस्तानको थियो । पाकिस्तानले यसअघि सागका दुई संस्करण आयोजना गरिसकेको छ । 

१९८९ मा चौथो र २००४ मा नवौं संस्करण पाकिस्तानले इस्लामाबादमा गरेको थियो ।