नेपाल राष्ट्रिय मुवाँथाई

पदक विजेता मुवाँथाई खेलाडी नगदसहित सम्मानित

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले थाइल्यान्डको बैंककमा भएको १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जिल्ने सफल नेपाली खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण पदक जितेका थिए । यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण पदक जितेका थिएनन् ।

गुणराजको उपलब्धी मुवाँथाईमा कुनै पनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो । यसअघि पलिस्था कक्षपतीले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारेतर्फ स्वर्ण पदक जितेका थिए ।

विश्व च्याम्पियनसिपको १९औं संस्करणमै परिका बतासले एमेच्योरतर्फ महिला ४५ केजीमा तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण पदक जितेकी थिइन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कांस्य पदक जिते ।

गुणराजले १ लाख, परिकाले ५० हजार तथा सुशिल, सञ्जय र गुमानले समान १० हजार रुपैयाँसहित प्रशंसा पत्र पाए । 

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपती लगायतले सम्मान गरे । सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराइ पनि समान १० हजार रुपैयाँ र प्रशंसासहित सम्मानित भए ।