एसएमएस फ्रेन्डसिप कप

नेपालको पहिलो हार

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार ब्यहोरेको छ । लिग चरणको अन्तिम खेलमा नेपाल बरोडा क्रिकेट संघसँग ३७ रनले पराजित भयो ।

अघिल्ला तीनै खेलमा जित निकालेको नेपालले फाइनलमा स्थान बनाइसकेको थियो । अघिल्ला तीनै खेलमा हार ब्यहोर्दै फाइनल पुग्ने दौडबाट बाहिरिएको बरोडाका लागि यो जित सान्त्वना बन्यो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा शुक्रबार बरोडाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा समेटियो ।

नेपालका लागि सन्दीप जोरालेले ४३ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक५६ रनको योगदान गरे । यसैगरी विवेक यालदवले १७ र कुशल भुर्तेलले १६ रन बनाए ।

बरोडाका लागि ध्रुव पटेलले  र लक्षित तोक्सियाले समान तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रनको योगफल तयार पार्यो । बरोडाका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६ मोहित मोंगियाले २२ र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए ।

नेपालका लागि करण केसी र गुलसन झाले समान दुई तथा आकाश चन्द, प्रतिश जिसी, ललितनारायण राजवंशी र कप्तान दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

नेपालले उपाधिका लागि आइतबार गुजरात क्रिकेट संघको सामना गर्नेछ ।