मैत्रीपूर्ण फुटसल

रूपन्देही प्रहरीलाई मैत्रीपूर्ण फुटसलको उपाधि

भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जितेको छ ।

सिद्धार्थनगर-१३ स्थित फुटसल मैदानमा मंगलबार सम्पन्न खेलमा प्रहरीले आयोजक लुम्बिनी प्रेस क्लवलाई ४-३ ले पराजित गरेको हो ।

निर्धारित ३० मिनेटको खेलमा दुवै टोलीले ३-३ को बराबरी खेलेपछि निर्णयको लागि पाँच मिनेट थपिएको थियो । थपिएको समयको चौथो मिनेटमा सुवाश थारुले गोल गर्दै प्रहरीलाई जित दिलाए ।

यसअघि १४ औं मिनेटमा प्रहरीका राजेश बस्नेतले आत्मघाती गोल गरेपछि लुम्बिनी प्रेस क्लबले  अग्रता लिएको थियो ।

२० औं मिनेटमा प्रेस क्लवका जयकेश हरिजनले प्रेस क्लबको अग्रता दोब्बर बनाए । २५ औं मिनेटमा प्रहरीका सुवाश थारुले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

२६ औं मिनेटमा जयकेशले ब्यक्तिगत दोस्रो गोल गर्दा प्रेस क्लब ३-१ ले अगाडि बढ्यो ।

 अन्त्यतिर प्रेस क्लबले सम्हालिएर खेल्न नसक्दा प्रहरीले दुई गोल गर्दै खेलमा बराबरीमा ल्यायो ।

२८ औं मिनेटमा सुवाशले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।  एक मिनेटपछि नै किशोर केसीले गोल गर्दै प्रहरीलाई ३-३ को बराबरीमा ल्याए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीलाई ५-१ तथा प्रेस क्लबले सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देहीलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

विजेता तथा उपविजेतालाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी प्रेस क्लवका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।

प्रेस क्लबले आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै भैरहवा-लुम्बिनी बौद्ध संचार यात्रा र कर्पोरेट क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।