बार्सिलोना

बार्सिलोनालाई मिलानले डेस्ट फिर्ता पठाउने चिन्ता

काठमाडौं । इटालियन क्लब एसी मिलान सर्जिनियो डेस्टलाई बार्सिलोनामै पठाउने योजनामा रहँदा स्पेनिस क्लबको चिन्ता बढेको छ ।  

गत सेप्टेम्बरमा बार्सिलोनाले डेस्टलाई लोनमा एसी मिलान पठाएको थियो । मिलानले २२ वर्षिय  डेस्टलाई एक वर्षका लागि अनुबन्धन गरेको थियो ।

एक वर्षपछि मिलानले डेस्टलाई २० मिलियन युरोमा स्थायी रुपमै अनुबन्धन गर्न पाउने सम्झौता भएको थियो । तर मिलान उनलाई पुरानै क्लब फर्काउन चाहन्छ ।

अमेरिकन डेस्ट इटालीमा त्यति रमाइरहेका छैनन् । डेस्ट सिरी ए मा जम्मा ११ खेल खेल्दा दुईपटक मात्र पहिलो रोजाइमा परेका छन् ।

बार्सिलोना फर्किए पनि डेस्टले खेल्न पाउनेमा शंका छ, किनभने उनी प्रशिक्षक जाभी हर्नान्डेजको योजनामा छैनन् ।

२०२० को अक्टोबरमा डेस्ट २१ मिलियन युरोमा आयाक्सबाट बार्सिलोना पुगेका थिए । रोनाल्ड कोम्यान प्रशिक्षक रहँदा अधिकांश समय मैदानमा बिताएका डेस्टले जाभीको आगमनपछि भने पर्याप्त खेल समय पाएका थिएनन् ।