टाईगर कप

टाईगर कपः साबिकको विजेता आर्मीलाई सोझो सेटमा हराउँदै गण्डकी फाइनलमा

टाईगर कपमा प्रतिस्पर्धा गर्दै आर्मी र गण्डकीका खेलाडी । तस्बिर, सुदर्शन रञ्जिन, पोखरा ।

काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा शुक्रबार सम्पन्न पुरुषर्फको दोस्रो सेमिफाइनलमा गण्डकीले साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।  

गण्डकीले खेल २५-२३, २५-२३ र २५-१६ ले आफ्नो पक्षमा पारेको हो । समूह चरणमा गण्डकी दोस्रो तथा आर्मी तेस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेका थिए ।

गण्डकीले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । एपिएफले नेपाल पुलिस क्लबलाई २५-१०, २५-२१ र २५-१८  ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

शनिबार नै तेस्रो स्थानका लागि हुने खेलमा आर्मी र पुलिस भिड्नेछन् ।

महिलातर्फ फाइनलमा एपिएफ र आर्मीबीच शनिबार नै प्रतिस्पर्धा हुनेछ ।  शुक्रबार नै महितातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले घरेलु टोली गण्डकीलाई २५-१९, २५-१६  र  २५-१६ ले पराजित गरेको थियो ।