अस्ट्रेलियन ओपन

आफ्नो करिअरको अन्तिम ग्रान्डस्लाम खेलपछि भाबुक बनिन् सानिया

मेलबर्न । वुमन डबल्स र मिक्स डबल्समा गरी ६ पटककको ग्रान्डस्लाम विजेता भारतीय  टेनिस स्टार सानिया मिर्जा अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा पराजित भएकी छन् । 

मिक्स डबल्सको शुक्रबार सम्पन्न फाइनलमा  सानिया र रोहन बोपन्नाकाे भारतीय जोडीले २-० को सेटमा पराजय ब्यहारेकाे थियाे । आफ्नो करियरकै अन्तिम ग्रान्डस्लाम खेलमा सानियाको जोडी ब्राजिलियन लुइसा स्टेफनी र राफेल माटोससँग ६-७ (७-२) र २-६ ले पराजित भएको थियो ।

भाबुक बन्दै सानियाले भनिन्,‘म अझै खेल्न चाहन्थे । मेरो खेल करियरको सुरुआत मेलबर्नबाटै भएको हो । १८ वर्षको  हुदाँ सन्  २००५ मा तेस्रो राउण्डमा सरिना विलियम्ससँग खेलेकी थिए । म करिअरको अन्तिम ग्रान्डस्लाम प्रतियोगितामा उपाधि जित्न चाहन्थे । फाइनलमा हार ब्यहारेर्नुपर्छ भनेर सोचेकै थिइन । सबैलाई धन्यबाद दिन चाहन्छु । मैले यहाँ घर जस्तै महसुस गरे ।’

३६ वर्षिय  सानियाले यसअघि नै अस्ट्रेलियन ओपन आफ्नो करिअरको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता हुने बताएकी थिइन्  । उनले  फ्रेबुअरीमा हुने दुबई ओपन पछि खेल जीवनबाट संन्यास लिन सक्ने आकंलन गरिएको छ । 

सानियाले वुमन्स डबल्सतर्फ सन् २०१५ मा विम्बल्डन र युएस ओपन तथा २०१६ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिइन् । यसैगरी उनले मिक्स डबल्सतर्फ २००९ मा अस्ट्रेलियन ओपन, २०१२ मा फ्रेन्च ओपन र २०१४ मा युएस ओपन जितेकी थिइन् ।

सन् २०१५ मा वुमन्स डबल्सतर्फ विश्व वरीयतामा शीर्ष स्थानसम्म पुगेकी सानियको सिंगलमा भने सन् २००५ युएस ओपनमा चौथो चरणसम्मको यात्रा तय गर्नु उत्कृष्ट प्रदर्शन हो ।