नेपाली फुटबल

केपी ओली कप फुटबल प्रतियोगिताको विजेतालाई १० लाख

काठमाडौं । पूर्व प्रधानमन्त्री खड्ग प्रसाद (केपी) ओलीको जन्मदिनको अवसरमा आयोजना हुन लागेको फुटबल प्रतियोगिता केपी ओली कपको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी  एमालेका अध्यक्ष केपी ओलीको जन्मदिनको अवसरमा पार्टीको  भातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले  फागुन ११ देखि १७ फागुनसम्म काठमाडौंमा ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ आयोजना गर्ने भएको हो । फागुन ११ बाट केपी ओली ७१ वर्षको लाग्नेछन् ।

आयोजनकले शुक्रबार पत्रकार सम्मेलनमार्फ प्रतियोगिताको पुरस्कारका बारेमा जनकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगिताको उपविजेताले पाँच लाख, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार,‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 प्रतियोगितामा ए डिभिजन लिगका क्लब सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेसम्म टोली दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।

युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताउँदै अन्य पार्टीले पनि यसको अनुसरण गर्नुपर्नेमा जोड दिए ।

‘यस्ता प्रतियोगिताहरु निरन्तर भइ रहनु पर्छ । अरु पार्टीले पनि यस्ता प्रतियोगिता गर्ने हो भने खेलाडीलाई जिवन यापन गर्न सहज हुन्छ । हामीले पार्टीलाई खेलकुदमा जोड्न खोजेका हौ’,पौडेले भने‘ हामीसँग बजेटको कुनै अभाव छैन त्यसैले यसलाई अर्को वर्ष पनि निरन्तरता दिने छौं । भविष्यमा फुटबल मात्र नभएर अन्य खेल पनि गर्नेछौं । कभर्ड हल बनाउने योजना छ । खेलाडी र खेल क्षेत्रमा सानो भए पनि योगदान होस् भन्ने  उदेश्य हाे।’