इङ्लिस लिग कप

फरेस्टमाथि युनाइटेडको सहज जित

लन्डन । म्यानचेस्टर युनाइटेडले बुधबा सेमिफाइनल पहिलो लेगमा नटिङघम फरेस्टमाथि ३-० को सहज जितसहित इङ्लिस लिग कपको फाइनल प्रवेशको सम्भावना बलियो पारेको छ ।

युनाइटेडको सहज जितमा मार्कुस रासफोेर्ड, ह्वाउट वेगहर्सट र ब्रुनो फर्नान्डेसले समान एक गोल गरे ।

यसअघि मंगलबार साउथहमटनलाई १-० ले पराजित गर्दै न्युक्यासल युनाइटेडले पनि फाइनल प्रवेशको सम्भावना बढाएको थियो । 

खेलको छैटौं मिनेटमा रासफोर्डले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ४५औं मिनेटमा वेगहर्सटले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा फर्नान्डेसले युनाइटेडका लागि तेस्रो गोल गरे । 

यसै साता इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलसँग ३-२ ले पराजित भएपछि इरिक टेन हागको टोलीको नौ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

युनाइटेड २०१७ पछि क्लबको उपाधि खडेरी तोड्ने लक्ष्यमा रहेको छ । २०१८ मा एफए कपको फाइनलमा प्रवेश गरे पनि युनाइटेड उपाधि जित्न भने असफल भएको थियो ।