इटालियन सिरी ए

केही अंक गुमाएका हौ,आत्तिएका छैनौः भ्लाहोभिच

मिलान । डुसान भ्लाहोभिचले कारबाही स्वरुप इटालियन सिरी ए मा यस सिजन युभेन्ट्सको १५ अंक घटुवा गरिए पनि त्यसले टोलीले पछिल्लो समय भेट्टाएको लय नगुम्ने बताएका छन । 

इटालियन फुटबल महासंघ (एफआइजिसी) ले शुक्रबारट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही गरेको थियो । त्यस्तै क्लबका केही पदाधिकारीहरुमाथि प्रतिबन्ध लगाइएको छ ।

कारबाही स्वरुप १५ अंक घटुवा भएपछि युभेन्ट्स तेस्रो स्थानबाट १०औं स्थानमा झरेको थियो । त्यसअघि युभेन्ट्स ३७ अंकसहित तेस्रो स्थानमा थियो ।

युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको बताइएको छ । विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआइजिसीले जनाएको छ । युभेन्ट्सले  एफआइजिसीको यो निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ ।

‘हामी केही अंक गुमाउँदैमा आत्तिएका छैनौ,’ भ्लाहोभिचले भने, ‘हामी १० स्थानमा झरेका छौ । यसले टोलीको स्वभाविक लयमा कमी आउने छैन । हामी थप सशक्त भएर पुनरागमन गर्नेछौ ।’