हलान्डले दुई गोल गरेपछि डर्टमन्डको सहज जित
स्टुटगार्ट, (खेलाडी)- इर्निङ ब्राउट हलान्डको दुई गोलमा शनिबार राति युनियन बर्लिनमाथि ४-२ को जित हासिल गर्दै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा शीर्ष टोलीसँगको दुरी एक अंकमा घटाएको छ ।
घरेलु मैदानमा पाएको जितपछि डर्टमन्डले पाँच खेलमा १२ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको साविक विजेता बायर्न म्युनिखको खातामा १३ अंक छ ।
राफेल गुरेइरोको गोलमा १०औं मिनेटमा अग्रता लिएको डर्टमन्डका लागि हलान्डले २४ र ८३औं मिनेटमा गोल थपेका थिए । यसबीचमा ५२औं मिनेटमा युनियन बर्लिनका मार्भिन फ्रिडरिचले एउटा आत्मघाति गोल गरेका थिए ।
पराजित बर्लिनका लागि म्याक्स क्रुस र आन्द्रियास भोग्लसमरले गरेका गोल समर्थकलाई सान्त्वनामा सीमित भयो ।
जर्मन बुन्डेसलिगामा शनिबारै भएको अर्को खेलमा बायर लेभरकुसनले भिएफबी स्टुटगार्टमाथि ३-१ को अवे जित हासिल गर्यो ।
जितपछि लेभरकुसन १० अंकका साथ चौथो स्थानमा रहँदा स्टुटगार्ट चार अंकका साथ १५औं स्थानमा छ ।