नेपाली फुटबल

एन्फाको आकस्मिक बैठकद्धारा लिग गर्ने निर्णयलाई औपचारिकता प्रदान, महिला टोलीले अर्को महिना भारत भ्रमण गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिले फागुन १९ बाट गर्ने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको निर्णयलाई शुक्रबार औपचारिकता प्रदान गरेको छ ।

यसअघि पुस २६ बाट गर्ने भनिएको लिग एन्फाले क्लबलाई दिनुपर्ने रकम समयमा नदिएपछि सरेको थियो । एन्फा सचिवालयले पछि क्लबहरुसँग सहमति गरेर फागुन १९ बाट शीर्ष डिभिजनको लिग गर्ने निर्णय गरेको थियो । जसलाई शुक्रबार बसेको कार्यसमितिको आकस्मिक बैठकले पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराएका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीले भारतमा आउँदो फेब्रुअरी १३ देखि २५ सम्म भारतमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरिएको छ । भारतीय फुटबल संघको निमन्त्रणाअनुसार उक्त मैत्रीपूर्ण खेल खेल्ने भनिए पनि त्यसको विस्तृत विवरण भने शाहद्धारा शुक्रबार जारी विज्ञप्तिमा खुलाइएको छैन ।

शाहले जनाएअनुसार एन्फाको आकस्मिक बैठकले चैत १५ गतेबाट ‘बी’ डिभिजनको लिग गर्ने निर्णय पनि गरेको छ । शीर्ष डिभिजनको लिग आयोजनाका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा कार्यसमितिका सबै जना रहने गरि लिग सञ्चालन समिति बनाइएको छ ।

यसैगरी एन्फा कार्यसमिति बैठकबाट सबै डिभिजनका लिगका लागि दर्शकको टिकट मुल्य तोक्नुका साथै टिकेटिङ तथा मार्केटिङ अधिकार विक्रीका लागि टेण्डर आह्वान गर्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी गराए ।

उनका अनुसार ‘ए’ डिभिजनमा भिआइपी प्यारापिटमा तीन सय तथा साधारण प्यारापिटमा एक सय रुपैयाँ टिकट दर तोकिएको छ भने ‘बी’ र ‘सी’ डिभिजनका लागि टिकट दर एक सय रुपैयाँ तोकिएको छ ।

शीर्ष डिभिजनको टिकेटिङ अधिकारका लागि न्युनतम एक करोड ५० लाख तथा मुख्य प्रायोजकवाहेक कमर्सियल मार्केटिङ अधिकार खरिदका लागि न्युनतम एक करोड ५० लाख रुपैयाँ तोकेर  टेण्डर आह्वान गर्ने पनि निर्णय भएको छ । यसैगरी तीनवटै डिभिजनको प्रशारण अधिकारका लागि न्युनतम ६० लाख रुपैयाँ तोकेर टेण्डर आह्वान गर्ने निर्णय भएको छ । यसवाहेक सबै डिभिजनका लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्री खरिदको टेण्डर आह्वान गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको छ ।