महिला फुटबल

एन्जिला, गीता र सावित्रा भारत प्रस्थान

काठमाडौै । नेपाल राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्य भारतीय महिला आईलिग खेल्न आज (बिहीबार) भारत प्रस्थान गरेका छन् ।

विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लबमा आबद्ध स्ट्राइकर सावित्रा भण्डारी, रक्षक गीता राना र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा आगामी सिजनको लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सावित्रा साविक विजेता गोकुलम केरेलामा अनुबन्ध छिन् । यसैगरी रक्षक गीता र गोलरक्षक एन्जिला सेथु एफसीमा आबद्ध छन् । दुबै खेलाडीले पहिलो पटक आईलिग खेल्दैछन् । सावित्राको भने यो तेस्रो संस्करण हो ।

यस अघि सावित्रा र अनिता बस्नेतलाई अनुबन्ध गरेको सेथु एफसी सन् २०१८–१९ मा च्याम्पियन भएको थियो । सन् २०१९–२० गोकुलम पुगेकी सावित्रा त्यहाँपनि च्याम्पियन बनिन् । गतसिजन भने सावित्रा घाइते हुँदा आईलिग गुमाउन पुगिन् । यस सिजनको आईलिग जनवरी तेस्रो साताबाट सुरु हुने बताइएको छ ।

तीनै खेलाडी गत असोजमा नेपालमा आयोजना भएको महिला साफ च्याम्पियनसिप खेलेका थिए । साफमा उत्कृष्ट प्रदर्शन गरेपछि कप्तान एन्जिला र रक्षक गीतालाई सेथुले अनुबन्ध गरेको थियो ।  

एन्जिलाकोे कप्तानीमा नेपाल साफ च्याम्पियनसिप उपविजेता भएको थियो । सेमिफाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै फाइलन पुगेको नेपाल बंगलादेशसँग पराजित हुँदा घरेलु मैदानमा उपाधि जित्न असफल भएको थियो ।