इङलिस लिग कप

युनाइटेड अन्तिम १६ मा

लन्डन । एस्टन भिल्लामाथि ४-२ को पुनरागमन जितसहित म्यानचेस्टर युनाइटेडले बिहीबार इङलिस लिग कपको अन्तिम १६ मा स्थान पक्का गरेको छ । 

यससँगै युनाइटेडले आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३-१ को हारको बदला समेत लिएको छ ।

४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियालले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

६१औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २-१ को अग्रता लिएको थियो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए । ७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३-२ मा पुर्याएका थिए ।

इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे ।

यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।