‘बंगलादेशसँग कमजोरी भए, उज्वेकिस्तानमा सुधार्छौ’ 

काठमाडौं, (खेलाडी)- बंगलादेशसँग निराशाजनक बराबरी नतिजामा सिमित भएपछि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीको पोजिसन परिवर्तन गर्नु आफ्नो गल्ती हुन सक्ने भन्दै जित हासिल गर्न नसक्नाको जिम्मेवारी लिएका छन् । 

‘जित्ने कोशिस गरेकाका थियौं । अझै रामो खेल्न सक्थ्यौं । बंगलादेशले राम्रो रक्षात्मक फुटबल खेल्यो,’ खेलपछिको पत्रकार सम्मेलनमा फिलिप्सले भने, ‘हामीले थुप्रै अवसर सिर्जना गरेका थियौं । तर आक्रमण नचल्दा तिनको सदुपयोग हुन सकेन ।’

टोलीको समग्र प्रदर्शनमा असन्तुष्ट देखिएका प्रशिक्षक फिलिप्सले एएफसी महिला च्याम्पियनसिप छनोटको तयारीस्वरुप खेलिएको खेल भएकाले नतिजामा जोड नदिएको प्रष्ट पारे । 

‘आज हामीले खेल कन्ट्रोल गर्न सकेनौं । हामीले आज बढि आक्रमक खेलेका थियौं तर पोसेसन राख्न सकेनौं,’ एएफसी च्याम्पियनसिपको छनोटमा फिलिपिन्स र हङकङसँग खेल्दा जितको लक्ष्यसहित उत्रने उनको भनाई थियो, ‘फिफा वरियता केही होइन । पक्कै पनि हङकङ र फिलिपिन्स माथिका टिम हुन् । तर हामीलाई बंगलादेशसँग खेलेका दुई अभ्यास खेलले धेरै फाइदा हुनेछ ।’

घुँडाको शल्यक्रिया गराएका कारण नेपाली टोलीकी सबभन्दा भरपर्दी खेलाडी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को अनुपस्थितीमा मैत्रीपूर्ण शृंखलाका लागि तयारी गरेको नेपालले यही क्रममा अर्की नियमित खेलाडी पनि गुमाउनु परेको थियो । 

बिहीबार पहिलो खेलअघि गरिएको स्वास्थ्य परिक्षणमा नेपाली टिमकी नियमित रक्षक पुनम जर्घा मगरको मुटुमा समस्या देखिएको थियो । शृंखलाका दुवै खेलमा आराम गरेकी उनको चाँढै मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ । 

‘हामीले केही महत्वपूर्ण खेलाडी गुमाएका छौं । त्यसको अशर पक्कै पनि हुन्छ । तर हामी तयार छौं,’ प्रशिक्षक फिलिप्सले थपे, ‘फुटबलमा सुधार गर्ने कुरा भनेको विस्तारै हुन्छ । अहिले हाम्रा खेलाडीका लागि नयाँ सिस्टममा अभ्यस्त हुन समय लागिरहेको छ । तर फिटनेस दिनहुँ बढिरहेको छ । जुन हाम्रा लागि फाइदाजनक हुनेछ ।’

नेपाली टोलीकी कप्तान रेणुका नगरकोटीले बिहीबारको खेलको तुलनामा आइतबार कमजोरी सुधारे पनि टोलीमा तालमेल मिल्न नसक्दा स्कोरिङमा समस्या आएको बताइन । 

‘अहिले सोचेजस्तो खेल भएन । तर हामी यी सबै कमजोरीलाई उज्वेकिस्तानमा सुधार्नेछौं । आशा छ त्यहाँ सम्म हामी रामो टोली तयार गर्न सफल हुनेछौं,’ रेणुकाले भनिन्, ‘खेलाडीलाई खेल्न गाह्रो भइहेको छ । कोचले रामो सिकाए पनि हामीले टिप्न सकिहका छैनौं । कतिपय जिल्लाबाट आएका नयाँ खेलाडी छन् । प्रपर ट्रेनिङ भएको छैन ।’

रेणुकाले टिममा धेरै सिनियर खेलाडी नभएका कारण पनि समस्या परेको बताइन । नयाँ खेलाडीहरुसँग तालमेल नमिलिसकेकाले तत्कालका लागि तालमेलमा समस्या आएको उनको भनाई थियो ।

नेपालसँग दशरथ रंगशालामा गोलरहित बराबरी नतिजा निकालेपछि उत्साहित बंगलादेशका प्रशिक्षक गोलाम रोबानी चोटोनले पूरा ९० मिनेटसम्म उच्च प्रतिबद्धताका साथ खेलेकोमा आफ्ना खेलाडीलाई धन्यवाद दिए । 

‘नेपाल दक्षिण एसियाको बलियो टोली हो । तर मेरा खेलाडीले पनि राम्रो खेले । मेरा खेलाडीले पूरा समय हाई इन्टेन्सिटीका साथ खेले । यसका लागि म उनीहरुलाई धन्यवाद दिन चाहन्छु,’ चोटोनले खेलपछिको पत्रकार सम्मेलनमा भने ।

एएफसी महिला च्याम्पियनसिपको तयारीमा रहेको बंगलादेशका प्रशिक्षकले मैत्रीपूर्ण खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघलाई धन्यवाद दिए । छनोट प्रतियोगिताअन्तर्गत बंगलादेशले यही सेप्टेम्बर १९ मा जोर्डनसँग खेल्नेछ ।

‘यो मैत्रीपूर्ण शृंखलाले हामीलाई धेरै फाइदा भएको छ । हाम्रो अवको लक्ष्य जोर्डनविरुद्धको खेल हो,’ उनले थपे, ‘नेपाल राम्रो टोली हो । तर हाम्रा खेलाडीहरुले उमेर समूहदेखि सँगै खेलेकाले तालमेल राम्रो भयो र नतिजा पनि राम्रो आयो । बंगलादेशले महिला फुटबलमा लगानी गरिरहेको छ । यसको फल भविश्यमा देख्न पाइनेमा आशावादी छु । फुटबलमा सुधार एक दिनमा सम्भव हुँदैन । विस्तारै बंगलादेश महिला फुटबलमा अगाडि आउँदैछ ।’