बंगलादेशसँग नेपाली महिला टिमको निराशाजनक बराबरी

काठमाडौं, (खेलाडी)- नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा निराशाजनक बराबरी नतिजा निकालेको छ ।

बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो बराबरी नतिजा हो । बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । 

उज्वेकिस्तानमा असोजको पहिलो साता हुने एएफसी महिला कपको छनोट प्रतियोगिताको तयारीका लागि नेपालले बंगलादेशलाई दुई मैत्रीपूर्ण खेल खेल्न काठमाडौं निम्त्याएको थियो । बिहीबार दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा नेपालले २-१ को जित हासिल गरेको थियो । 

नेपाली टोलीकी सबभन्दा सफल स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितीमा नेपालको आक्रमण फितलो बन्दै आएको थियो । तथापि पहिलो खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ जनाउने क्रममा सविता राना र प्रिती राईले गोल गरेर बंगलादेशमाथि नेपालको दबदबा कायम राखेका थिए । तर आइतबार भने पर्याप्त आक्रमणका अवसर बुने पनि गोलमा परिणत गर्न सकेन । आइतबारको खेलमा नेपालकी गिता राना प्लेयर अफ दी म्याच घोषित भइन ।

बंगलादेशले पनि नेपाली टोलीविरुद्धको खराव इतिहास सुधार्ने प्रयासस्वरुप आइतबार दशरथ रंगशालामा आक्रमणका थुप्रै मुभ बनाएको थियो । तर भ्रमणकारी टोली पनि असफल हुँदा दुई टिमबीच दोस्रो बराबरी नतिजा निस्कियो ।