एनआरएनए फुटबल टिम

एनआरएनएका खेलाडीमाथिको प्रोटेस्ट सदर: नतिजा उल्टियो, खेलाडीले खेल्न नपाउने

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) फुटबल टिमका खेलाडीमाथि लागेको प्रोटेस्ट सदर भएसँगै नतिजा पनि उल्टिएको छ । गत बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय खेलाडी उतारेपछि विवाद भएको थियो ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश नम्बर १ ले प्रोटेस्ट हालेको थियो ।

गत बिहीबार प्रदेश नम्बर १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएको खेलमा एनआरएनए २–० ले विजयी भएको थियो । एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए ।

सोही खेलअघि प्रदेश नम्बर १ ले खेल्न नमानेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि प्रोटेस्ट हाल्न सक्ने बताएपछि खेल भएको थियो ।

खेलसकिने बित्तिकै प्रदेश नम्बर १ ले हालेको प्रोटेस्ट सदर भएको नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिका सचिव हिमाल दाहालले जानकारी दिए ।

‘एन्फाका साथीहरुसँग छलफल गर्यौं, अस्तिको खेल ३–० हुने रहेछ । त्यही हुन्छ, खेलाडीहरुले बाँकी खेल खेल्न पाउँदैनन्,’ उनले भने ।

यो निर्णयसँगै त्यो खेलको नतिजा उल्टिएर प्रदेश नम्बर १ को ३–० को जित भएको छ ।