नेपाली फुटबल

महिला फुटबलमा विभागीय टिम हावी

पोखरा । विभागीय टोलीले बर्चस्व कायम गरेको दिन बिहीबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा सुखद सुरुआत गरेका छन् ।

स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५-० को जित हासिल गर्यो । टोलीका लागि निरु थापाले दुई गोल गरिन ।

१७औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन । जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।

यसैगरी बिहीबारै समूह ‘बी’ अन्तर्गत भएको खेलमा अर्को विभागीय टोली आर्मीले मधेष प्रदेशमाथि ६-० को रवाफ जमायो ।

आर्मीको जितमा इन्दिरा राईले ह्याट्रिक गरिन भने चन्द्रा भण्डारी, अमिशा कार्की र अञ्चली वाइवाले एक/एक गोल गरे ।

नवौं मिनेटमा खाता खोलेकी इन्दिराले पहिलो हाफको अन्तिम मिनेट र इन्जुरी समयमा गोल गर्दै प्रतियोगिताको दोस्रो ह्याट्रिकमा नाम लेखाएकी थिइन । अञ्चलीले ३०, चन्द्राले ५२ तथा अमिशाले ५७औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार तीन खेल हुनेछन् । शुक्रबारको पहिलो खेलमा समूह ‘सी’ अन्तर्गत सशस्त्र प्रहरीको एपिएफ र प्रदेश एक, दोस्रो खेलमा सोही समूहका कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ भने तेस्रो खेलमा बाग्मती र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।