बंगलादेशमाथि नेपाल २-१ ले विजयी

काठमाडौं, (खेलाडी)- प्रिती राईले अन्तर्राष्ट्रिय गोलसँगै नेपाली महिला राष्ट्रिय टोलीबाट ’डेब्यु’ गर्दा दशरथ रंगशालामा घरेलु टोलीले बंगलादेशमाथि २-१ को जित निकालेको छ । 

पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव सुखद बनाउने क्रममा प्रितीले गोल गरेपछि नेपालले दशरथ रंगशालामा बंगलादेशविरुद्ध जारी दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा बिहीबार प्रतिस्पर्धात्मक जित निकालेको थियो । 

बंगलादेशमाथिको प्रभाव कायम राख्ने क्रममा नेपालका लागि सरु लिम्बुको पासमा प्रितीले गोल गरेकी थिइन । 

नेपालका लागि १३औं मिनेटमा सरिता रानाले गोल गर्दै अग्रता दिलाएकी थिइन । विमला चौधरीको पासलाई गोलमा परिणत गर्दै सरिताले घरेलु टोलीलाई अग्रता दिलाइन । 

त्यसमा २२औं मिनेटमा प्रितीले अर्को गोल थपेकी थिइन । 

नेपाली टोलीबाट बिहीबारको खेलमा चार खेलाडीले ‘डेब्यु’ गरे । प्रिती र सविता रानाले पहिरो रोजाईमै मैदान उत्रिएर अन्तर्राष्ट्रिय खेल जिवनको यात्रा सुरु गर्दा वैकल्पिक खेलाडीका रुपमा सिर्जना सिंह र रस्मीकुमारी घिसिङले पनि पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव गरे । 

हिराकुमारी भुजेललाई स्थानान्तरण गर्दै ८१औं मिनेटमा सिर्जना मैदान प्रवेश गरेकी थिइन भने सविताको ठाउँमा समय सकिन चार मिनेट बाँकी रहँदा रस्मीकुमारी मैदान छिरेकी थिइन ।

पहिलो हाफको सुरुमै दुई गोलको अग्रता लिएपछि नेपाली टोलीले आफ्नो खेलमा गति घटाउँदा बंगलादेशले त्यसको फाइदा उठायो । बंगलादेशका लागि निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा तोहिरा खातुनले एक गोल फर्काएकी थिइन । तर उनको प्रयासले बंगलादेशलाई बराबरीसम्म पुर्याउन भने सकेन । 

दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।