साफ च्याम्पियनसिपका लागि विशेष तयारी गर्न नेपाली टोली कतार जाँदै

काठमाडौं, (खेलाडी)- असोज दोस्रो साताबाट माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि विशेष तयारी गर्न कतार जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरिएको छ । 

टोलीलाई बिहीबार एक कार्यक्रममाझ युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारीले शुभकामनासहित विदाई गरे । 

नेपाली टोलीले कतारमा १० दिनको विशेष प्रशिक्षण गरेर उतैबाट साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ । दोहामा नेपाली टोलीले अभ्यास खेल पनि खेल्ने बताइएको छ । 

साफ च्याम्पियनसिपको तयारीकै लागि नेपालले गत साता घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेलको शृंखला खेलेको थियो । पहिलो खेलमा १-१ को बराबरी नतिजा निकालेको नेपालले दोस्रो खेलमा भने भारतलाई २-१ को नतिजा सुम्पिएको थियो । 

कतारमा थप मैत्रीपूर्ण खेलको लागि व्यवस्था मिलाउन नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोमबार नै कतार प्रस्थान गरिसकेका छन् । बाँकी टोली भने भोली शुक्रबार कतार जाने बताइएको छ । 

साफ च्याम्पियनसिप असोज १५ देखी असोज ३० गते सम्म माल्दिभ्सको राजधानी मालेमा हुने तालिका छ । उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध खेल्दै नेपालले दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको सुरुआत गर्नेछ ।