किरण चेम्जोङ

जङ्गिँदै किरणले भने, 'अल्मुताइरीले बोलाएन होइन, निकालेको भन्नुस्’

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूलाई टिमबाट निकालेको बताएका छन् । एएफसी एसियन कप छनोट तेस्रो चरणका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले आधारभूत आवश्यकताको माग गर्दा प्रशिक्षक र खेलाडीबीच विवाद भएको थियो ।

जसको फलस्वरुप प्रशिक्षक अल्मुताइरीले जान भनेपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका थिए । कप्तान किरणले पनि सामाजिक सञ्जालमार्फत खेलाडीलाई समर्थन गरेपछि उनलाई पनि बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले टिम घोषणा गरेका थिए ।

भोलि दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै किरणले बोलाएको भए आउने बताए ।

‘म आइहाल्थेँ नि, निकालिएको चाहीँ भन्नु न... बोलाएको होइन, निकालेको भन्नु न... बोलाएन होइन, निकालेको चाहीँ हो,’ पत्रकारको उत्तर दिने क्रममा जंगिदै किरणले भने, ‘राष्ट्रिय टिममा गए पछि यो तेरो मेरो.... तँ राई... तँ लिम्बु... तँ बाहुन... यहाँबाट आएको भन्ने नै कुरा होइन । हामी राष्ट्रिय टिममा आएपछि राष्ट्रका लागि खेल्ने हो । एउटा समूह बनाएर हिँड्ने पनि होइन ।’

‘हजुहरुले बाहिरबाट कुन तरिकामा सोच्नु भएको छ थाहा छैन,’ उनले थपे, ‘तर, राष्ट्रिय कप्तान भएपछि, टिममा भइसकेपछि हामी देशका लागि खेल्न आएको हो । मेरो फाइदाका लागि खेल्न आएको होइन ।’