शिवशुन्दर गोथे

टेबल टेनिस खेलाडी गोथेले गरे विवाह

काठमाडौं । तीन पटक टेबल टेनिस च्याम्पियन बनेका शिवसुन्दर गोथेले विवाह गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिवसमेत रहेका गोथेले सोमबार रोमी श्रेष्ठसँग विवाह गरेका हुन् ।

नेपाली टेबलटेनिसमा पछिल्लो पुस्ताका सफल खेलाडी हुन्, शिवसुन्दर गोथे । उनले सन् १९९७ मा बंगलादेशमा सम्पन्न प्रथम दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसयता उनले निरन्तर नेपाली टेबलटेनिसबाट देशको प्रतिनिधित्व गरिरहेका छन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई रजत पदक दिलाउनु शिवसुन्दरको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसअघि उनले १० देखि १२औं सागसम्म लगातार कांस्य पदक जितेका थिए ।

उनले हालसम्म पाँच दक्षिण एसियाली खेलकुद, दुई एसियाली खेलकुद, चार एसियाली टेबलटेनिस च्याम्पियनसिप र तीन विश्व टेबलटेनिस च्याम्पियनसिपमा आफ्नो प्रदर्शन देखाइसकेका छन् ।