किरण चेम्जोङ

कप्तान किरण नै

काठमाडौं । भोलि दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले नै नेपाली टिमको कप्तानी गर्ने भएका छन् । पूर्व कप्तान विराज महर्जनपछि पूर्ण कप्तान बनेका किरण एएफसी एसियन कप छनोटका लागि टिममै परेका थिएनन् ।

उनी खराब प्रदर्शनका कारण नभई तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादमा खेलाडीलाई साथ दिएका कारण टिममा परेनन् । यद्यपि, कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले किरणसहित विवादका कारण बाहिरिएका सबै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

किरणको अनुपस्थितिमा नवयुग श्रेष्ठले नेपालको कप्तानी गरेका थिए । नवयुग पनि उपलब्ध नहुँदा पुजन उपरकोटीले आर्मब्यान्ड लगाउने मौका पाए । यद्यपि, पुजन र नवयुग दुवै भोलिको खेलका लागि टिममा छैनन् ।

यता किरणले टिममा पुनरागमन गरेसँगै नेतृत्वको जिम्मेवारी पनि फिर्ता भएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित खेलअघिको पत्रकार सम्मेलनमा किरण नै कप्तानको हकमा उपस्थित भएका थिए ।