साफ महिला च्याम्पियनसिप

दशरथ रंगशाला, महिला टिम र समर्थकको साथ

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजेदेखि सुरु हुने प्रतियोगितामा नेपाल र बंगलादेश दुवैले पहिलो पटक भारतलाई हराउँदै फाइनल पुगे । च्याम्पियनसिपको छैटौं संस्करण आइपुग्दा भारत फाइनल पुग्न नसकेको पहिलो पटक हो ।

लगातार पाँच संस्करणदेखि उपाधिमा कब्जा जमाएको भारतलाई समूह चरणमा बंगलादेशले ३–० ले पराजित गरेको थियो । सेमिफाइनलमा नेपाललाई १–० को नतिजा सुम्पिदै भारत पहिलो पटक च्याम्पियनसिपको फाइनल पुग्न असफल भयो ।

च्याम्पियनसिपको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेशले पहिलो पटक भारतलाई हराएका हुन् । दुवै टिमले इतिहास रच्दै फाइनलमा स्थान पक्का गरे ।

जारी प्रतियोगिताको नतिजा हेर्ने हो भने हालसम्म ५५ गोल भएको छ । प्रतियोगितामा चार खेल खेलेको बंगलादेशले १७ र तीन खेल खेलेको नेपालले ११ गोल निकालेको छ ।

हालसम्म प्रतियोगितामा हार्ने टिमले एक गोल पनि फर्काउन सकेका छैनन् । यस्तो, अवस्थामा नेपालले बंगलादेशविरुद्ध जित निकाल्न शुरुआती अग्रता बनाउनु पर्ने हुन्छ । भावनात्मक रुपमा संवेदनसिल हुन्छन् । त्यसैले गोल खाएपछि फर्काउने सम्भावना पनि कम हुन्छ । कम्तिमा यो प्रतियोगिताको तथ्याङ्कले पनि यही भन्छ । यसैकारण, दुवै टिमलाई गोल बेहोरिसकेपछि फर्काउन सकस पर्ने पक्का छ ।

भारतलाई हराएर साफ च्याम्पियनसिपमा नयाँ इतिहास बनाएका दुवै टिम पुनः एकपटक इतिहास नयाँ विजेताको रुपमा आफ्नो नाममा लेखाउन चाहन्छन् ।

४० दशकदेखि महिला फुटबलमा पाइला अघि बढाएको नेपालले एकमात्र अन्तर्राष्ट्रिय रंगशालामा हालसम्म कुनै पनि खेलमा हार बेहोरेको छैन ।

नेपाली महिला टिमले पहिलो पटक गत वर्षको भदौ अन्तिम साता बंगलादेशविरुद्ध नै दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपालले एक जित र एक खेल बराबरी खेलेको थियो । रंगशालामा आधिकारिक प्रतियोगिताको रुपमा टिमले साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो खेल खेलेको थियो ।

बंगलादेशसँग फाइनल खेल्न लागेको नेपाली टिमले रंगशालामा खेल्न लागेको यो छैटौं खेल हो । पुरुषको तुलनामा कम प्राथमिकतामा पर्ने महिला टिमको लागि बंगलादेशसँगको खेल निकै महत्वपूर्ण हुनेछ ।

सम्बन्धित निकायबाट प्राथमिकतामा पर्न नसकेको नेपाली महिला टिमले हालसम्म समर्थकबाट पनि गज्जवको साथ पाउन सकेको थिएन् ।  तर, यो पटक भने च्याम्पियनसिपको सुरुआती खेलहरुमा कम दर्शक आए पनि सेमिफाइनलमा भारतविरुद्धको खेलमा सात हजार दुई सय ५३ दर्शक आएका थिए ।

स्रोतका अनुसार फाइनलका लागि सबै टिकट ‘सोल्डआउट’ भइसकेको छ । खेल सुरु हुनु एकदिन अघि नै भिआइपीतर्फको टिकट सोल्डआउट भएको थियो ।

पहिलो पटक ‘हाउसफूल’ प्यारापिटमा खेल्न लागेको महिला टिमको लागि यो एउटा अवसर र ऐतिहासिक दिन पनि हो । घरेलु भूमिमा नै जारी प्रतियोगिताको उपाधि जित्ने र घरमै ट्रफी राख्ने लक्ष्य लिएको महिला टिमले यो इतिहास बनाएमा नेपालमा पुरुषसरह नै महिला फुटबलको ‘क्रेज’ पनि बढ्नेमा कुनै आशंका हुनेछैन ।