साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिप: प्लेयर्स टू वाच

काठमाडौंं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ पाँच बजेदेखि सुरु हुनेछ । दुवै टोलीले सतप्रतिसत नतिजासहित फाइनलसम्मको यात्रा तय अहिलेसम्म एक गोल पनि बेहोरेका छैनन् ।

नेपालले अहिलेसम्म दशरथ रंगशालामा खेलेका कुनै पनि खेलमा हार बेहोरेको छैन । फाइनलसम्म आइपुग्न समूह ‘बी’ मा नेपालले भुटान र श्रीलंका तथा समूह ‘ए’ मा बंगलादेशले भारत, पाकिस्तान र माल्दिभ्सको चुनौती पन्छाएका थिए ।

यस्तै, सेमिफाइनलमा नेपालले भारतलाई हराउदा बंगलादेशले भुटानलाई हराएका थिए ।

उत्कृष्ट लयमा रहेका दुवै टिमको उपाधिबारे आ–आफ्नै दावी छ । दुवै टिमका प्रशिक्षकले खेलमा प्रभाव पार्न सक्ने खेलाडीको जिकिर गरिरहँदा खेलाडी डटकम पनि फाइनलका लागि ‘प्लेयर्स टू वाच’ तयार पारेको छ ।

श्मीकुमारी घिसिङ (फरवार्ड)

उमेर समूह तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै फरवार्ड रश्मीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । नेपालको यु १६ र यु १८ टिमदेखि नै उनी उत्कृष्ट लयमा थिइन् । गत भदौमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा रश्मीलाई प्रशिक्षक ग्यारी फिलिप्सले डेब्यु गराएका हुन् । त्यस यता २१ वर्षीय रश्मीले बिना गोल चार खेल खेलेकी थिइन् ।

घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी रश्मीले २०७८ सालमा भएको महिला राष्ट्रिय लिगको पहिलो चरणमा सात गोल गरेकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा ७७ मा आर्मी राष्ट्रिय लिगको उपविजेता हुँदा रश्मीले १६ गोल गरेकी थिइन् ।

अग्लो कद र फरवार्ड लाइनलमा चुस्त देखिएकी रश्मी नेपाली  टिमकी महत्वपूर्ण सदस्य हुन् । जारी प्रतियोगितामा भारतलाई हराउँदै इतिहास रचेको नेपालले १–० को नतिजा निकालेको थियो । जसमा रश्मीले पहिलो अन्तर्राष्ट्रिय गोल तथा ऐतिहानसिक गोल गरेकी थिइन् । प्रतियोगितामा प्रशिक्षक थापाको पहिलो रोजाईमा पर्ने गरेकी रश्मी बंगलादेशसँगको फाइनलमा पनि पर्ने उत्तिकै सम्भावना छ ।

दिपा शाही (मिडफिल्डर)

घरेलु लिग र यु १९ टोलीमा उत्कृष्ट प्रदर्शनसँगै दीपाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । दीपा हुम्लाबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने एक्ली खेलाडी हुन् । १६ वर्षीय मिडफिल्डर दीपाले भुटानसँगको पहिलो खेलबाटै डेब्यु गरेकी थिइन् ।

नियमति कप्तान रेणुका नगरकोटेको अभाव दीपाले परिपूर्ति गरिरहेकी छिन् । त्रिभुवन आर्मीबाट चितवनमा खेलेकी दीपाले दुई गोल गरेकी थिइन् । उनले श्रीलंकासँगको दोस्रो खेलमा पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । हालसम्म नेपालले खेलेको तीनवटै खेलमा सुरुआती सेटमा नै स्थान बनाएकी दिपा प्रशिक्षक कुमार थापाको पहिलो रोजाइमा छिन् र उनीबाट थापाले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शनको आशा पनि राखेको छन् ।

गीता रानामगर (रक्षक)

बर्दिया जिल्लाकी गीता राष्ट्रिय टोलीकी डिफेन्डर हुन् । २६ वर्षकी फुल–ब्याक गीता टोलीको नियमित र अनुभवी खेलाडी हुन् । अग्लो कदकी गीतालाई रक्षापंक्तिमा बिट गर्नु विपक्षी खेलाडीकोलागि सहज छैन । जारी साफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरिरहेकी गीताले विपक्षीबाट आएको प्रहारलाई क्लियर गरिरहेकी छिन् । नेपाली टिममा सबैभन्दा बलियो देखिएकी गीताले आफूले पाएको बललाई कहिल्यै सहज रुपमा छोडेकी छैनन् ।

विभागीय टोली एपिएफकी गीता नेपाली रक्षापंक्तिको खम्बा नै हुन् । उनीमाथि प्रशिक्षक थापाको ठूलो आशा छ । हालसम्म उनी प्रशिक्षक थापाको पहिलो रोजाईको खेलाडीमा परिरहेकी छिन् । गीताले राष्ट्रिय टिमबाट ३८ खेल खेलिसकेकी छिन् ।

सविना खातुन (कप्तान, फरवार्ड)

बंगलादेशको यु १९ टिमहुँदै राष्ट्रिय टिममा आएकी सविना फाइनलमा नेपालको प्रमुख टाउको दुखाइ बन्ने निश्चित छ । सन् २००९ मा बंगलादेशको राष्ट्रिय टिमबाट डेब्यु गरेकी सविना टिमकै अनुभवी खेलाडीमध्येकी एक हुन् । च्याम्पियनसिपको छैटौं संस्करणमा उत्कृष्ट लयमा देखिएकी सविनाले समूह चरणका खेलमा माल्दिभ्सविरुद्ध दुई र पाकिस्तानविरुद्ध ह्याट्रिक गरेकी थिइन् । उनले सेमिफाइनलमा भुटानविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् । हालसम्म आठ गोल गरेकी सविना प्रतियोगिताको उच्च गोलकर्ता समेत हुन् । सविनालाई रोक्नु नेपाली रक्षकहरुका लागि ठूलो चुनौती हुने पक्का छ ।

मारिया मन्दा ( मिडफिल्डर)

मारिया मन्दा बंगलादेशी टिमकी प्रमुख सदस्य हुन् । मारियासँग मिडफिल्डमा बलमाथि नियन्त्रण राख्ने गज्जवको खुबी छ । यसैकारण उनी प्रशिक्षक रोब्बानी छोटेनको प्रमुख रोजाइमा पर्छिन् । १९ वर्षीय मारिया यु १४ देखि बंगलादेशको राष्ट्रिय टिमबाट खेल्दै आइरहेकी छिन् । उनले सन् २०१६ मै सिनियर टिमबाट डेब्यु गरेकी थिइन् । उनले जारी च्याम्पियनसिपमा गोल गर्न नसके पनि मिडबाट बल निकाल्न माहिर छिन् । चुस्त र फूर्तिली मारियालाई मिडमा रोक्न नेपाली टिमले कडै कसरत गर्नुपर्ने देखिन्छ ।

मसुरा प्रविन (रक्षक)

‘नेपालसँग सावित्रा छ भने हामीसँग मसुरा र सविना छन्,’ आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा बंगलादेशी मुख्य प्रशिक्षक गोलम रोबानी छोटोनले भनेका थिए । यसबाट पनि मसुरा बंगलादेशी टिमकी कति महत्वपूर्ण सदस्य हुन् भन्ने थाहा हुन्छ । रक्षापंङ्क्तिमा जब्बर देखिने मसुरालाई बिट गर्दै गोल गर्न नेपालका लागि पक्कै पनि सहज हुनेछैन । सन् २०१९ देखि बंगलादेशबाट खेल्दै आएकी मसुराले जारी साफको चारै खेलमा निर्धारित समय मैदानमा बिताएकी छिन् ।