संविधान दिवस

संविधान दिवसको अवसरमा खेलकर्मीलाई पदक

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट जनसेवा श्री पदकबाट सम्मानित हुने भएका छन् ।

सरकारले संविधान दिवसको अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न पदकबाट सम्मानित गर्न लागेको हो । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित हुनेछन् ।

तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्री पदकबाट विभूषित हुनेछन् । पौडीकी कीर्तिमानी  गौरिका सिंह राष्ट्रदीप पदकबाट विभूषित हुने भएकी छिन् ।

यसैगरी जनसेवा श्री पदकबाट प्रशिक्षक भट्टसँगै नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्दक जगतबहादुर खड्का, पारा ओलम्पियन पलेश गोवर्धन, फुटबल प्रशिक्षक अरुणा गुरुङ, महिला भलिबल टिमकी कप्तान अरुणा शाही  र तेक्वान्दो खेलाडी भजिन्द्र बहादुर क्षेत्री विभूषित हुने भएका छन् ।

सुकीर्ति पदकबाट सम्मानित हुने खेलाडीमा कल्पना परियार, जयरानी थारु, जीवन थारु, तिलकबहादुर देउजा, रेणुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ र रंजित तामाङ विभूषित हुनेछन् ।

सरकारले यो वर्ष ९ सय ९८ जनालाई विभिन्न मानपदवी र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा पदक दिदै आएको छ ।