एन्फा

एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता

दोहा । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ ।

एन्फा अध्यक्ष नेम्वाङले सोमबार कतारको राजधानी दोहामा फिफा अध्यक्षसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा एन्फा अध्यक्ष र फिफा अध्यक्षबीच नेपालमा जारी साफ महिला च्याम्पियनसिप र अन्य फुटबल गतिविधिका बारेमा कुराकानी भएको एन्फाले जनाएको छ ।

अध्यक्ष नेम्वाङले फिफाले एन्फालाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै एन्फाको नयाँ कार्यसमिति फुटबल विकासका लागि प्रतिवद्ध रहेको र यसका लागि फिफाको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

एन्फा अध्यक्षको कुराप्रति फिफा अध्यक्ष इन्फान्टिनो सकारात्मक रहेको एन्फाले जनाएको छ ।

हाल एन्फा अध्यक्ष नेम्वाङ कतार भ्रमणमा छन् । उनले यसअघि शनिबार कतार फुटबल संघ (क्युएफए) का अध्यक्ष हमाद बीन खलिफा बीन अहमेद अल थानीसँग पनि भेटवार्ता गरेका थिए ।