नवौं राष्ट्रिय खेलकुद

आर्मीले मधेश प्रदेशलाई हरायो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेशले दिएको एक सय पाँच रनको लक्ष्य आर्मीले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा कप्तान विनोद भन्डारीले सर्वाधिक ३४ रन बनाए । यस्तै, रोहितकुमार पौडेलले २५, अर्जुन साउदले १७ र रोजेश पुलामीले १६ रन बनाए ।

मधेश प्रदेशका आदिल आलम, रुपेश सिंह र हरिशंकर साहले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय चार रनको योगफल खडा गरेको थियो ।

मधेशका ओपनर सन्तोष कार्कीले सर्वाधिक २१ रन बनाएका थिए । यसबाहेक कप्तान हसिम अन्सारीले २०, रोहन विकले १७, नसरुदिन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन जोडेका थिए ।

मधेशलाई सानो योगफलमा रोक्न आर्मीका सोमपाल कामी र सुसन भारीले समान दुई विकेट लिएका थिए । यसबाहेक, हरि चौहानले एक विकेट हात पारे ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहे पनि सोही समयमा नेपाल टी २० लिग हुने भएपछि पुरुष क्रिकेटलाई अघि सारिएको हो ।