साफ महिला च्याम्पियनसिप

जित्नै पर्ने दबाबमा भुटान

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा श्रीलंकासँग पाँचौं पटक आमने सामने हुन लागेको भुटानी टिम पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा   भुटान र श्रीलंकाबीचकोखेल अपराह्न ५ः३० बजे सुरु हुनेछ । 

सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन । श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ । श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ ।

यता, श्रीलंका भुटानमाथि सहज जित निकाल्ने दाउमा हुनेछ । साफ च्याम्पियनसिपको हरेक भेटमा भुटानमाथि जित निकाल्देै आएको श्रीलंकाको यो पटक पनि भुटानलाई पराजित गर्दै समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्य हुनेछ ।

सन् २०१० मा भएको पहिलो संस्करणमा पहिलो पटक आमने सामने हुँदा भुटान र श्रीलंकाले १–१ को बराबरी खेलेका थिए । २०१२ मा भएको दोस्रो संस्करणमा श्रीलंकाले भुटानमाथि ४–० को नतिजा निकालेको थियो । यसैगरी भुटानमाथि श्रीलंकाले २०१४ मा ३–० र २०१६ २–० को नतिजा निकालेको थियो ।

हालसम्म तीनपटक सेमिफाइनल पुगेको श्रीलंका  त्यसभन्दा अघि बढ्न सकेको छैन ।

सन् २०१२ मा पहिलो पटक सेमिफाइनलमा पुगेको श्रीलंका नेपालसँग ३–० ले पराजित भएको थियो । श्रीलंका २०१४ मा भारतसँग ५–० र २०१९ मा नेपालसँग ४–० ले पराजित हुँदै फाइनल प्रवेश गर्न असफल भएको थियो ।

श्रीलंकाका मुख्य प्रशिक्षक चामिन्डा निल स्टेनवालले देश आर्थिक संकटमा भए पनि तयारीमा कुनै असर नपरेको बताएका थिए । 

‘हामीले राम्रो तयारी र लामो अभ्यास गरेर आएका छौं । श्रीलंकामा आर्थिक संकट भए पनि अभ्यासमा कुनै असर परेको थिएन,’ उनले भने ।

पहिलो संस्करणबाट सहभागिता जनाउँदै आएको भुटान पाँच पटक नै समूह चरणबाटै बाहिरिएको छ । भदौ २१ गतेदेखि सुरु भएको छैटौं संस्करणको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ४–० ले पराजित भएको थियो ।

यो पटक युवा खेलाडीलाई समेट्दै प्रतियोगिता खेल्न आएको भुटानले तयारी राम्रो गरेको बताएको थियो ।

‘हामीले फरक–फरक तरिकाबाट तयारी गरेका छौं । तयारी राम्रो भएको छ,’ भुटानी टिमकी मुख्य प्रशिक्षक क्युङ सुक हङले भनेकी थिइन् ।