काठमाडौं । एउटा खेलाडीलाई घरेलु मैदानमा आफ्नै समर्थकसामु देशका लागि खेल्न पाउनुले ठूलो अर्थ राख्ने गर्छ । अझ, त्यो अवसरसँग देशका लागि उपाधि जित्ने सम्भावना पनि जोडियो भने त्यो स्वर्णिम सपना बन्न सक्छ ।
नेपाली महिला फुटबल टोलीका खेलाडीहरू अहिले त्यस्तै सम्भावनाका नजिक छन् । हो, लगातार पाँच पटकको च्याम्पियन भारतको वर्चस्व तोड्दै महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने एउटा सुनौलो सपना नजिक अहिले नेपाली टिम छ । पक्कै पनि यो सामान्य मौका होइन ।
यही असामान्य मौकाका लागि आफूलाई लामो समयदेखि तयार राखे पनि प्रतियोगिताको मुखैमा यसबाट बाहिरिनुपर्यो भने त्योभन्दा पीडा सायद खेलाडीका लागि अर्को नियति हुँदैन । त्यस्तै दुर्भाग्यजनक नियतिको सामना नेपाली फुटबलमा थुप्रै स्टार खेलाडीले पटक-पटक गरेका घटनाहरू छन् ।
विगतमा राष्ट्रिय महिला फुटबल टिमका पूर्वखेलाडी जमुना गुरुङ र अनु लामाले पनि चोटका कारण ठूलो प्रतियोगिता गुमाउनुपरेको इतिहास छ । राष्ट्रिय टोलीका फरवार्डद्वय जमुना र अनुले घुँडाको चोट लागेपछि फुटबलमा पुरानो लयमा पुनरागमन जनाउन सकेनन् । जमुनाको २०६९ सालमा भएको दोस्रो महिला साफ च्याम्पियनसिप तथा अनुको २०७१ सालमा अभ्यासका क्रममा चोट लागेको थियो ।
त्यसपछि राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले पनि उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट २०२२ गुमाएकी थिइन् । २०७७ साल फागुनमा भएको राष्ट्रिय महिला लिगको क्रममा घुँडामा चोट बोकेकी सावित्राले एएफसी छनोट चरणका खेलहरू गुमाएकी थिइन् । जसमा नेपाल फिलिपिन्ससँग २-१ को नतिजामा पराजित भएको थियो ।
काठमाडौंमा जारी छैटौं महिला साफ च्याम्पियनसिप पनि दुई महत्त्वपूर्ण खेलाडीका लागि त्यस्तै बिर्सनलायक बन्यो । प्रतियोगिता आउन केही महिनामात्र बाँकी रहँदा गम्भीर चोटको सिकार भएका कारण कप्तान रेनुका नगरकोटे र रक्षक पूजा राना मगर मैदानमा अन्तर्राष्ट्रिय स्पर्धा चलिरहँदा प्यारापिटमा ताली पिट्नमै सीमित बनेका छन् ।
भदौ २१ देखि सुरु महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडीबाट अन्तिम २३ खेलाडीमा रेनुका र पूजाले स्थान पक्का गरिसकेका थिए ।
तर, असार २१ गते सातदोबाटोस्थित एन्फाको मैदानमा प्रशिक्षणका क्रममा रेनुकाको बायाँ क्ल्यारिकल बोन (ब्युटीबोन) मा चोट लाग्यो । यता, पूजाको प्रतियोगिता आउन २२ दिन (साउन २९) मात्र बाँकी रहँदा जावलाखेलमा प्रशिक्षण गर्ने क्रममा बायाँ खुट्टा भाँच्चियो ।
जसका कारण घरेलु मैदानमा भारतलाई हराएर उपाधि जित्ने उनीहरूको सपना ‘सपना’मै रह्यो ।
एउटा खेलाडीका लागि प्रतियोगिता नजिकिँदै गर्दा चोटका कारण आराममा बस्नु निकै दुःखदायी क्षण हुन्छ । अहिले यी दुवै खेलाडीलाई त्यस्तै भइरहेको छ ।
भुटानसँग नेपालको पहिलो खेल रंगशाला पुग्दा रेनुका निकै भावुक भएकी थिइन् ।
‘रंगशाला छिर्दै गर्दा दुःख लागेको थियो । आसु नै आएको थियो,’ उनले खेलाडीसँग भनेकी थिइन्, ‘मैदानबाहिर बसेर खेल हेर्न निकै गाह्रो हुँदोरहेछ ।’
हाल फिजियोथेरापी गराइरहेकी रेनुकाको चोट त निको भइरहेको छ । तर, तत्काल उनी मैदान उत्रन सक्षम भइसकेकी छैनन् । उनी अर्को महिना पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदबाट पुनरागमन गर्ने आसमा छिन् ।
‘अहिले फिजियोथेरापी गराइरहेको छु । चोट पनि निको भइरहेको छ । नवौं राष्ट्रिय खेलकुदबाट पुनरागमन गर्छु होला,’ उनले राष्ट्रिय खेलकुद खेल्ने अपेक्षा व्यक्ति गरिन् ।
यसैगरी चोट लागेपछि चोटको भन्दा पनि साफ च्याम्पियनसिप गुमाउनुपर्ने अवस्थाले दुःख थपिएको उनले सुनाइन् ।
‘चोट लागेपछि दिमागमा पहिलो कुरा नै साफ च्याम्पियनसिप खेल्न नपाउने भएँ भन्ने आएको थियो । यसरी प्रतियोगिता नजिकिँदै गर्दा आफू चोटका कारण बाहिर रहँदा निकै दुःख लाग्दोरहेछ,’ पूजाले खेलाडीसँग भनेकी थिइन्, ‘आफ्नै मैदानमा भएको प्रतियोगिता पनि खेल्न पाइनँ ।’