फुटबलको आधारभूत प्रशिक्षण

सिन्केमानले सुरु गरे आधारभूत फुटबल तालिम

काठमाडौं । पूर्व राष्ट्रिय फुटबलर तथा एएफसीद्वारा मान्यताप्राप्त फुटबल र फुटसल प्रशिक्षक जीवन सिन्केमानले आठ देखि १६ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरी फुटबलको आधारभूत तालिम (एफएफटी) सुरु गरेका छन् । 

पछिल्लो ६ वर्षदेखि पेप्सीकोलास्थीत उज्वल तारा स्कुलसँग जोडिएका सिन्केमानले त्यहीँ यो वर्षदेखि इच्छुक खेलाडीहरुका लागि साप्ताहिक प्रशिक्षण सुरु गरेका हुन् । एफएफटीले अर्को हप्तादेखि सबै इच्छुक खेलाडीहरुका लागि प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ ।

फुटबलको आधारभूत प्रशिक्षणले बालबालिका तथा युवा खेलाडीहरुलाई शारीरिक, प्राविधिक, सामाजिक, मनोवैज्ञानिक गरी चार क्षेत्रमा आधारित प्रशिक्षण विधिबाट उनीहरुको प्रदर्शन बढाउन प्लेटफर्म प्रदान गर्नेछ । यस प्रशिक्षणको उदेश्य नयाँ पुस्तालाई फुटबलमा आकर्षित गर्न, खेलकुदप्रति जोस र टिम वर्क, अनुशासन, सम्मान र नेतृत्व क्षमताका साथै फुटबलको प्राविधिक पक्षबारे सिक्ने वातावरण सिर्जना गर्नु रहेको प्रशिक्षक सिन्केमानले बताए ।

यसबाट ३५ जना बालबालिकाहरुले प्रत्येक शनिबार पेप्सिकोलास्थित उज्वल ताराको प्राकृतिक मैदानमा प्रशिक्षण लिनेछन् । प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुले ५० घण्टाको प्रशिक्षण पूरा गरिसकेपछि प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रशिक्षणमा प्रत्येक प्रशिक्षण सत्रको उत्कृष्ट खेलाडीलाई पुरस्कार गरिने र प्रशिक्षणमा रिफ्लेक्ट कनेक्ट र एप्लाई (आरसिए) माध्यम अवलम्बन गरिने सिन्केमानले जानकारी दिए ।

१०औं सागका कास्य पदक विजेता एएफसी लाइसेन्सप्राप्त फुटबल र एएफसी लेभल वान फुटबल प्रशिक्षक सिन्केमानले देशमा असहज परिस्थितीका बावजुद खेलकुदमा युवाको ठूलो चासो रहे पनि प्रतिकुल परिस्थितीका कारण उनीहरुको लगावमा कमी रहेको बताए ।

यसैकारण आफूहरुले नयाँ पुस्तालाई आकर्षित गर्न र सानैदेखि खेलकुदप्रतिको बलियो लगावलाई जगाउनका लागि राम्रो खेलकुद वातावरण सिर्जना गर्न सक्दो प्रयास गरिरहेको र सोही प्रयास स्वरुप नेपाली फुटबलमा एफएफटी कार्यक्रम सुरु गरेको सिन्केमानले बताए ।