रियाल मड्रिड

रियल हो ‘वास्तविक रणनीतिकार’

  • सरगत

यसपल्टको नयाँ सिजनका लागि युरोपको क्लब फुटबलको ठूलो स्पर्धा च्याम्पियन्स लिगको ‘ड्र’ पनि बाहिरिइसकेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा रियलले सजिलो समूह पाएको छ । तय छ यो स्पेनिस ला लिगा क्लब सजिलै नकआउट चरणमा पुग्नेछ । रियल यत्तिकैमा रोकिने छैन । त्यसैले हुनसक्छ, यो फेरि एकपल्ट फाइनल पुग्नेछ ।

यो टिम त उपाधिका लागि सदाबहार दाबेदार हो । त्यसै पनि च्याम्पियन्स लिगमा रियलको प्रदर्शन आफैंमा अद्वितीय छ, यत्तिको सफल टिम अरू छैन ।

यसको एउटा कारण रियलसँग प्रशिक्षकका रूपमा उम्दा कार्लो एन्सेलोट्टी छन् । गत सिजन मे महिनामा भएको फाइनलअगाडि लिभरपुलबारे उनलाई प्रश्न गरिएको थियो, ‘के छ त लिभरपुलबारे विचार ?’ बडो नम्र भएर एन्सेलोट्टीले भनेका थिए, ‘लिभरपुल निकै मजबुत टिम हो, यसले निकै आक्रामक भएर खेल्छ, एउटा टिमको रूपमा यो गजब छ । प्रशिक्षक योर्गन क्लोपले पनि राम्रो काम गरिरहेका छन्, उनले फुटबलमा नयाँ प्रयोग गरेका छन् ।’

फाइनलमा लिभरपुल नै उपाधिका लागि बलियो प्रत्याशी थियो तर जित रियलकै भयो । स्कोर थियो १–० । फाइनलपछि तिनै एन्सेलोट्टीलाई फेरि सोधियो, ‘लिभरपुल कस्तो रह्यो त ?’ मुसुक्क हाँस्दै उनले भने, ‘लिभरपुललाई हराउन सजिलो रह्यो । लिभरपुलले एकै पाराले खेल्छ । हामी भने फरक फरक ढंगले खेल्छौं । लिभरपुलले ठ्याक्कै कसरी खेल्छ भनेर थाहा पाएपछि तिनलाई हराउन सजिलो भएन ।’

नयाँ सिजन लागेयता पुरानोलाई फर्केर हेर्दा एन्सेलोट्टीको दाबी हो नै जस्तो लाग्न सक्छ ।

खासमा युरोपेली फुटबल महासंघ (युइएफए)ले त्यही सन् २०२१–०२२ को च्याम्पियन्स लिगको एउटा प्राविधिक रिपोर्ट तयार पारेको छ । त्यसमा प्रतियोगिताका सबै १ सय २५ खेलको विश्लेषण गरिएको छ । त्यसले पनि भन्छ, रियल धेरै हदसम्मसम्म रणनीति बनाएर खेल्ने टिम हो । यसै आधारमा रियलले उपाधि पनि जित्यो । अझ विशेषतः फाइनलमा रियलले यस्तो रणनीति बनाएको थियो, जुन अचुक रह्यो । यसको धेरैभन्दा धेरै श्रेय तिनै एन्सेलोट्टीलाई दिनुपर्छ ।

लिभरपुलमात्र होइन, पछिल्लो समय म्यानचेस्टर सिटी र बायर्न म्युनिखले पनि एकै पाराले खेल्ने गर्छ । यो पाराको विशेषता हो, डिफेन्समा कडा जोड, प्रतिद्वन्द्वीमाथि लगातार दबाब राख्ने दाउ, यसैक्रममा मौका सिर्जना गर्ने उद्देश्य । यी ती क्लबले च्याम्पियन्स लिगमा यसरी नै खेले । जबकि रियलको खेल फरक थियो । उसले आफ्नो डिफेन्स त बलियो राख्यो नै । विपक्षी टिमलाई आक्रमण गर्न छोडेको थियो । फेरि रियललाई यस्तो गर्न बाध्यता थियो, किनभने उसका अधिकांश खेलाडी बढी उमेरका थिए ।

फेरि एउटा उखान जस्तै फुटबलमा । भाग्यले साथ दिने भनेको बहादुरलाई मात्रै हो । रियललाई भाग्यले भरपूर साथ दिएको थियो । जस्तो, पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अन्तिम १६ को प्रतिस्पर्धामा १५ मिनेटको खेल बाँकी छँदा रियल बाहिरिने स्थितिमा थियो । चेल्सीविरुद्ध क्वाटरफाइनलको अन्तिम १० मिनेटमा रियल पराजित हुने तय देखिन्थ्यो । अनि सेमिफाइनलमा सिटीविरुद्ध इन्जुरी समयको ५ मिनेटमा रियलकै नाममा हार लेखिएको थियो ।

तर, प्रत्येकपल्ट रियल खेलमा फर्केनमात्र जित आफ्नै पक्षमा पार्न सफल रह्यो । त्यसैले त टोलीले उपाधि पनि जित्यो । यसका लागि उत्तिकै श्रेय एन्सेलोट्टीले खिचेको रणनीतिलाई जान्नै पर्छ । उनको फुटबल रणनीति पनि बडो ठूलो बुझ्नै नसकिने खालको पनि छैन । उनलाई लिभरपुलविरुद्धको फाइनल कस्तो रह्यो भनेर पनि सोधिएको थियो । उनको उत्तर थियो, ‘भिनिसियसले गोल गरे, कोटर्वाले गोलरक्षकका रूपमा केही बचाउ गरे । कथा सकियो ।’