काठमाडौं । एडम रोसिङ्टनर र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध आठ विकेटको जित दर्ता गरेको छ ।
जितसँगै सात खेलमा ६ अंक जोडेको पोखराले पाँचौं स्थानमा रहेर लिग सक्काएको छ । पराजित चितवन समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पोखराले दुई बल बाँकी रहँदा दुई विकेट गुमाउँदै पूरा गर्यो ।
पोखराका लागि रोसिङ्टनले ४८ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । यसैगरी अर्जुनले अविजित ४३ रन बनाए ।
पहिलो विकेटका लागि रोसिङ्टन र अर्जुनबीच १०० रनको साझेदारी भएको थियो । चितवनका लागि सैफ जेब र रिजन ढकालले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि देव खनालले ३५, अल्पेश रामदानीले अविजित ३३, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रन बनाए ।
पोखराका लागि धनन्नजय लक्षणले तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले समान एक विकेट लिए ।
