काठमाडौं । इङ्लिस राइटब्याक काइल वाल्करले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत वाल्करले इङ्ल्यान्डको जर्सीबाट अब नखेल्ने जानकारी गराएको हो ।
अहिले बर्नलीबाट व्यावसायिक फुटबल खेलिरहेका वाल्करले सन् २०११ मा स्पेनविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसयता १४ वर्षमा उनले ९६ क्याप जितेका छन् ।
वाल्करले युइएफए युरोपियन च्याम्पियनसिप २०१२ र फिफा विश्वकप २०१४ चोटका कारण गुमाएका थिए । त्यसयता इङ्ल्यान्डले खेलेको पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा वाल्कर टोलीका सदस्य थिए ।
इङ्ल्यान्डले सन् २०२० र २०२४ को युरोपियन च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा गरेको थियो । त्यस्तै फिफा विश्वकप २०१८ मा टोली तेस्रो भएको थियो । यी तीन प्रतियोगितामा वाल्कर टोलीका प्रमुख सदस्य थिए ।
‘यो निर्णय लिइरहँदा म एकदमै दुःखी छु । तर, म आफ्नो करियरप्रति गर्व पनि गर्छु,’ वाल्करले लेखेका छन्, ‘पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा थियो । तर, आज समय आएको छ ।’
