श्रीलंकामा भएको साफ महिला च्याम्पियनसिपको दोस्रो संस्करणको फाइनल नेपालले भारतविरुद्ध तेस्रो मिनेटमै अग्रता लिएको थियो । नेपालका लागि गोल गरेपछि दीपा अधिकारीलाई लागेको थियो ‘भारतलाई हराउन सकिन्छ भन्ने ।’
कोलम्बोस्थित सीआर एन्ड एफसी मैदानमा २०६९ सालमा भएको त्यो फाइनलको सुरुमै गोल गरेपछि दीपा आफैं अचम्ममा परेकी थिइन् । उनलाई विश्वास लागिरहेको थिएन ।
‘गोल गरेपछि मेरो त दिमाग नै ब्लान्क भयो,’ दीपा त्यो दिन सम्झिन्छिन्, ‘म उभिएको उभियै भएँ । अनि साथीहरू आएर मलाई लडाइहाले नि..।’ गोलको खुसी साटे ।
बंगलादेशमा भएको पहिलो संस्करण फाइनलमा नेपाल १–० ले भारतसँग पराजित थियो । त्यो हारको बदला लिने लक्ष्यका साथ श्रीलंका पुगेको नेपालले साफ च्याम्पियनसिपमा भारतविरुद्ध पहिलो गोल गरेको थियो । तर, निर्धारित समयसम्म पुग्दा नेपाललाई उपाधि जिताउन त्यो दीपाको एकमात्र गोल पर्याप्त भएन ।
०६९ साल भदौ २२ देखि सुरु प्रतियोगितामा समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ को नतिजामा हराउँदै शतप्रतिशत जित निकाल्दै नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० को नतिजामा हराएपछि नेपालको फाइनल यात्रा सहज बनेको थियो ।
|
यता, समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको भारतले अफगानिस्तानमाथि ११–० को फराकिलो जित निकाल्दै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको थियो ।
दुई वर्षअघि झिनो अन्तरमा पराजित भएर उपाधि विमुख भएको नेपाली महिला टोली त्यस्तै नतिजा निकाल्दै उपाधि आफ्नो पक्षमा पार्न नयाँ जोस र उर्जा लिएर मैदान उत्रिएको थियो । त्यसमा आफूले पहिलो गोल गर्दा नेपाली टिमको हौसला अकासिएको दीपा सुनाउँछिन् ।
‘हामीले भारतलाई जित्न सकेका थिएनौं । ट्रेनिङ पनि राम्रै गरेका थियौं । जित्नैपर्ने दबाब थियो । खेल सुरु भएको तेस्रो मिनेटमै भारतविरुद्ध मैले गोल हानें, जुन क्षणको म बयानै गर्न सक्दिनँ,’ मिडफिल्डर दीपाले भनिन्, ‘सबै आएर उभिएकै ठाउँमा अँगालो हालेर मलाई लडाए । त्यसपछि भारतलाई हराउन सकिन्छ भन्ने आँट आयो । भारतलाई चुनौती दिन सक्छौं भन्ने लाग्न थाल्यो ।’
दीपाको यो गोल साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले गरेको पहिलो हो । उनीअघि साफसहित अन्य प्रतियोगितामा पनि नेपालले भारतविरुद्ध गोल गर्न सकेको छैन ।
भारतसँगको खेल खेलाडीमात्र नभई सम्पूर्ण नेपालीका लागि नै चासो विषय बन्ने गर्दछ । जसका कारण खेलाडी तथा प्रशिक्षकमा जित निकाल्नुपर्छ भन्ने दबाब प्राकृतिक रूपमा नै आउने दीपा बताउँछिन् ।
फाइनलअघि नै नेपाली खेलाडी उत्साहित थिए । दक्षिण एसियामा रहेको भारतको एकछत्र राज तोड्ने अवसर रहेको फाइनल खेल्ने दिन कहिले आउँछ भनेर आफूहरू पर्खाइमा रहने गरेको दीपाले सुनाउँछिन् ।
|
‘भारतसँगको खेल भोलि हुनु छ भने आजैदेखि कहिले हुन्छ, कहिले भोलि आउँछ र तिनीहरूलाई जितेर, गोल्ड मेडल लगाएर नेपाल फर्किनु जस्तो हुन्थ्यो । मैदानमा जाँदै गर्दा सबैको ध्यान भारतलाई जित्नेमा नै हुन्थ्यो । ट्रेनिङ गर्दा पनि भारतलाई कसरी जित्ने, कसरी खेल्ने भनेर नै सिकाइन्थ्यो,’ उनले सुनाइन् ।
तर, अन्त्यमा नेपालले नतिजा ३–१ ले गुमायो । यो नतिजामा हार्नुपर्दा भारतलाई हराउने स्तरमा आफूहरू नपुगेको महसुस दीपालाई नभएको होइन ।
‘खेल सकिएपछि भारतीय खेलाडीले हामी हार्छाैं भन्ने सोचिसकेका थियौं भने सुनाए । तर सानो कमजोरीले गर्दा हामीले जितिसकेको खेल हार्यौं,’ उनले भनिन्, ‘त्यो दिन कहिल्यै बिर्सिन्नँ । त्यो गोल मेरो क्षणिक नै भयो ।’
करिब एक महिनाको ट्रेनिङ लिएर १९ सदस्यीय खेलाडीसहित नेपाली टिम श्रीलंका पुगेको थियो । हेटौंडामा भएको घरेलु प्रतियोगितामा तीन विभागीय र बाहिरको टिमबाट ४६ खेलाडीलाई मुख्य प्रशिक्षक किशोर केसीले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका थिए ।
त्यसअघि यु–१४ टिमको प्रशिक्षण सम्हालिसकेका केसीले अञ्जना रानामगर, सरु लिम्बु र मञ्जलीकुमारी योञ्जनलगायत युवा खेलाडीलाई टिममा मौका दिएका थिए ।
जर्मनीबाट प्रशिक्षक ‘बी’ लाइसेन्स, नेपालबाट ‘सी’, ‘बी’, ‘ए’ लाइसेन्स लिएका प्रशिक्षक केसी आफ्नै रणनीतिका कारण नेपालले हार्न पुगेको स्वीकार्छन् ।
‘हामीले तीन मिनेटमा गोल गर्दै अग्रता लिँदा खेलाडीमा जोस र जित्नसक्ने रहेछौं भन्ने भावना उत्पन्न गराएको थियो । तर, भारतले हाम्रो डिफेन्सलाई कटाएर पास गरेको क्रसमा गोल गर्यो । पहिलो हाफ १–१ को बराबरीमा रोकिएपछि खेलाडीहरू केही डराएजस्तो देखिएको थियो,’ उनले त्यो क्षण सुनाए, ‘दोस्रो हाफमा भारतीय खेलाडीको जुत्ताको लेस फुस्किएर हाम्रो खेलाडी कुल्चिएर लड्यो । हामीले फाउल पाउनुपर्ने थियो । तर, उल्टो भारतलाई फ्रि–किक दिइयो । त्यही फ्रि–किकमा गोल भयो । खेल २–१ भएपछि मैले जितका लागि अट्याकिङ खेलाएँ जसमा नेपालले अर्काे गोल खाँदै ३–१ को नतिजा सुम्पिनुपर्यो ।’
प्रशिक्षक केसीले अन्तिम गोल खानुको कारण आफ्नो निर्देशनको कमजोरी रहेको सुनाए । । भने, ‘मेरै कारणले गोल खाएको थियो । किनकि अट्याकिङ खेलाएँ । त्यसलाई स्वीकार्छु म । खेलाडीको प्रदर्शनबाट सन्तुष्ट थिएँ । त्यसैले अर्काे पटक राम्रो नतिजा निकाल्ने वाचाका साथ हामी नेपाल फर्किएका थियौं ।’
|
दुई दशकभन्दा लामो प्रशिक्षण अनुभव बटुलेका केसी अहिले जावलाखेल युथ क्लबका मुख्य प्रशिक्षक छन् ।
फुटबलमा रहेर लामो समय बिताइसकेका केसीले राष्ट्रिय टिम बलियो बनाउनका लागि विभागमात्र नभएर सम्पूर्ण क्लबमा महिला टिम अनिवार्य हुनुपर्ने आवश्यकता औंल्याउँछन् ।
‘युवा खेलाडी उत्पादनको लागि विभागमात्र नभएर सबै क्लबले त्यसमा ध्यान पुर्याउनुपर्छ । जति प्रतियोगिता हुन्छ त्यति नै खेलाडीहरू उत्पादन हुन्छन्,’ केसीले भने, ‘प्रत्येक क्लबमा महिला टिम, उमेरस्तरीय टिम हुनुपर्छ । त्यो सबै बलियो भयो भने राष्ट्रिय टिम बलियो हुन्छ ।’
२०७२ सालमा भएको यु–१४ एएफसी वुमेन्स कपमा नेपालले सेमिफाइनलमा भारतलाई १–० को नतिजामा हराउँदा केसी नै मुख्य प्रशिक्षक थिए । भुइँचालोका कारण यो प्रतियोगिता बीचमै रोकिएको थियो ।