इङ्लिस प्रिमियर लिग

कुकुरेयाको घटनामा आफूबाट गल्ती भएको भार रेफ्रीको स्वीकार

लन्डन । भिडियो असिस्टेन्ट रेफ्री माइक डिनले टोटनहमका रक्षक क्रिस्टियन रोमेरोले चेल्सीका रक्षक मार्क कुकुरेयालको कपाल तान्दा मैदानका रेफ्री एन्थोनी टेलरलाई घटनाबारे जानकारी नगराएर आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार स्ट्यामफोर्ड ब्रिज भएको चेल्सी र टोटनहमबीचको खेलमा पाहुना टिमका अर्जेन्टिनी रक्षक रोमेरोले कुकुरेयाको कपाल तान्दै लडाएका थिए । जसमा रेफ्रीले कुनै प्रतिकृया जनाएका थिएनन् ।

त्यसअघि २-१ ले अग्रता बनाएको चेल्सी सो घटना रेफ्रीले नदेख्दा अन्तिम मिनेटमा बराबरीमा रोकिन बाध्य बनेको थियो ।

उक्त घटनापछि भार रेफ्री डिनले केही समय लिएका थिए । तर, उनले मुख्य रेफ्रीलाई फाउल र कार्डका लागि कुनै निर्देशन नदिएपछि खेल पुनः सुचारु भएको थियो । जसमा टोटनहमले कर्नर पाएको थियो । सोही कर्नरमा ह्यारी केनले गोल गरेपछि चेल्सी २-२ को बराबरीमा रोकिएको थियो ।

तर, डिनले अहिले भने उक्त घटनामा चेल्सीले फ्रिकिक पाउन सक्ने बताएका हुन् । डिनले मुख्य रेफ्री टेलरलाई भार हेर्नका लागि निर्देशन दिनुपर्नेमा आफू चुकेको स्वीकार गरे ।

‘मैले रेफ्री एन्टोनियो टेलरलाई रोमेरो र कुकुरेयाबीचको घटनापछि केही समय पर्खिन आग्रह गरेको थियो । उक्त घटनामा भारबाटै मैले चेल्सीलाई फ्रिकिक दिन नसके पनि सम्भाव्य कार्डका लागि टेलरलाई भार हेर्न आग्रह गर्न सक्थे,’ खेलमा भिडियो असिस्टेन्टको जिम्मेवारी पाएका डिनले भने ।