इङ्लिस प्रिमियर लिग

वुल्भ्सविरुद्धको खेलमा फर्किने कोन्टेको विश्वास

लन्डन । चेल्सीविरुद्धको खेलका कारण फुटबल एसोसियसन (एफए) को कारवाहीमा परेका टोटनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले वुल्भ्सविरुद्धको खेलबाट टचलाइनमा फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आइतबार स्टामफोर्ड ब्रिजमा भएको खेल २–२ को बराबरीमा सकिएपछि चेल्सीका प्रशिक्षक थोमस टचेल र कोन्टे एकअर्काविरुद्ध आक्रामक देखिएका थिए ।

सोही कारण दुवै प्रशिक्षकले खेल सकिए पनि रातो कार्डको दर्शन गरेका थिए । र, यसै घटनालाई लिएर एफएले पनि दुवैलाई स्पष्टिकरण सोधेको थियो । जसले दुवैजना आगामी खेलमा टचलाइनमा नदेखिने सम्भावना देखिएको छ ।

यद्यपि, कोन्टेले भने आउँदो खेलमा आफूलाई टचलाइन फर्किन दिनुपर्ने धारणा राखेका हुन् ।

‘उल्भ्ससँको खेलमा टचलाइनमा हुनेछु भन्ने मेरो आशा छ । यस्ताखाले घटनाबाट अझ धेरै कुरा सिक्न पाइन्छ । तर, त्यसबेला मेरो प्रतिकृया उत्तेजित थिएन । म शान्त रुपमा स्थिती नियन्त्रण गर्ने प्रयासमा थिए,’ कोन्टेले भने ।