स्पेनिस ला लिगा

समर्थकलाई धैर्य हुन जाभीको आग्रह

मड्रिड । रायो भालेकानोसँग गोलरहित बराबरीसहित स्पेनिस ला लिगाको नयाँ सिजनमा निराशाजनक  सुरुआत गरेपछि  बार्सिलोनाका प्रशिक्षक जाभीले  समर्थकलाई धैर्य हुन आग्रह गरेका छन् ।

बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा भालेकानोलाई पूर्णरुपमा दबाबमा राखे पनि पाएको अवसरलाई भने गोलमा परिणत गर्न सकेन ।

गत सिजन लिगकोअन्तिम दुई खेलमा जित निकाल्न नसकेको बार्सिलोना नयाँ सिजनको पहिलो खेलमा समेत अंक बाँड्न बाध्य भयो ।

सिजन सुरु हुने अघिल्लो दिन मात्र बार्सिलोनाले यसै सिजन क्लबमा अनुबन्ध भएका रोबर्ट लेवान्डोवस्की, राफिन्हा, आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई  ला लिगामा दर्ता गरेको थियो ।

‘हामी स्वभाविक लयमा छौ भन्ने देखाउँन चाहन्छौ किनभने  हामीमाथि धेरैको अपेक्षा छ तर अहिले निराश हुनुपर्ने केही छैन’,जाभीले भने, ‘यो लिगको सुरुआत मात्रै हो । हामीले आफ्नो टोलीमाथि विश्वास राख्नुपर्छ । म बार्सिलोना समर्थकलाई धैर्य हुन आग्रह गर्न चाहन्छु । ’

बार्सिलोनाले आगामी साता रियाल सोसिडाडको भ्रमण गर्नेछ ।