फ्रेन्च लिग वान

एमबाप्पे छिट्टै लयमा फर्कने गाल्टियरको विश्वास

पेरिस । पेरिस सेन्ट जर्मन( पिएसजी)का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले स्ट्राइकर किलियन एमबाप्पेलाई स्वभाविक लयमा फर्कन केही समय लाग्ने प्रतिक्रिया दिएका छन् ।

फ्रेन्च लिग वानमा पिएसजीले शनिबार मोन्टेपिल्लरलाई ५-२ ले हराएको थियो । गाल्टियले सहज जित निकाले पनि एमबाप्पेको प्रदर्शन सन्तोषजनक नरहेको बताए ।

सिजनको पहिलो खेलमा टोलीबाहिर रहेका एमबाप्पे यसै खेलबाट टोलीमा फर्किएका थिए । २३औं मिनेटमा उनले पेनाल्टीको अवसर गुमाएका थिए । तर एमबाप्पेकै पासमा फालेय साको टोलीका लागि पहिलो गोल गर्न सफल भएका थिए ।

पिएसजीको सहज जितमा नेइमारले दुई तथा एमबाप्पे, साको र इन्जोले समान एक गोल गरेका थिए । गत साता पहिलो खेलमा पनि पिएसजीले क्लेमोन्टमाथि ५-० को जित निकालेको थियो ।

एमबाप्पे खेल अबधीभर खुशी देखिएका थिएनन । उनले सिजनको पहिलो गोलमा समेत खुशीयाली मनाएनन् । उनी निराश देखिएका थिए ।

गाल्टियरले एमबाप्पे हालै मात्र चोटमुक्त हुँदै टोलीमा फर्किए पनि पूर्ण रुपमा फिट नभएकाले निराश भएको दाबी गरे ।

‘एमबाप्पेले पछिल्लो पटक तीन साता अघि खेलेका थिए ।चोटमुक्त हुँदै टोलीमा फर्किए पनि उनले स्वभाविक लय अझै भेट्टाउन सकेका छैनन । त्यसैले उनी निराश बनेका छन् । उनले छिट्टै स्वभाविक लय भेट्टाउनेमा विश्वस्त छु ।’