यु २० साफ च्याम्पियनसिप

भारतसँगको नतिजाको ह्याङओभर अझै उत्रिएको छैन: सहायक प्रशिक्षक साहुखल

फाइल फोटो

भुवनेश्वर । भारतमा जारी यु २० साफ च्याम्पियनअन्तर्गत मंगलबार समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएसँगै नेपालको फाइनल पुग्ने सम्भावन न्युन बनेको छ । नेपाल फाइनल पुग्न भारत अहिले जारी खेलमा माल्दिभ्ससँग पराजित हुन पर्छ ।

बंगलादेशसँगको खेलपछि प्रतिकृया दिँदै नेपाली टिमका सहायक प्रशिक्षक बालगोपाल साहुखलले खेलाडीहरु अझै भारतसँगको नतिजाबाट माथि उठ्न नसकेको बताए ।

‘केटाहरुले आफ्नो शतप्रतिशत दिए । आजको खेल हामीले फराकिलो अन्तरमा जित्न पर्ने थियो । हामीमा दबाब थियो । हामीले पछिल्लो खेल हारेका थियौं,’ साहुखलले भने, ‘मलाई लाग्छ भारतसँगको हारको ह्याङओभरबाट केटाहरु अझै उठ्न सकेका छैनन् । यदी हामी आत्मविश्वासी हुन्थ्यौं भने नतिजा हामीले चाहेअनुरुपको आउन सक्थ्यो । सुरुका दुई खेलमा हाम्रो राम्रो प्रदर्शन थियो । यो युवा टिम हो । अझै धेरै कुराहरु सिक्न बाँकी छ ।’

यस्तै, उनले दोस्रो हाफको सुरुआतमा भएको घटनालाई इंकित गर्दै त्यो जित्नै पर्ने दबाबका कारण देखिएको बताए ।

‘आज खेलमा जे भयो त्यो राम्रो थिएन । अबका दिनमा त्यस्तो हुन दिने छैनौं भन्ने विश्वास दिलाउन चाहन्छु । हामीले भारतसँग फराकिलो हार बेहोरेका थियौं । र, आज कम्तिमा ३-० जित्नै पर्ने दबाब थियो । त्यही दबाब खेलाडीमा देखियो,’ साहुखलले भने ।

के भएको थियो ?

दोस्रो हाफको सुरुआतमै बंगलादेशी खेलाडीले नेपाली मिडफिल्डर क्रितिश रत्न छुन्जुमाथि फाउल गरेपछि सिर्जना भएको तनावपूर्ण अवस्थापछि नेपालका दुई तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड पाएका थिए ।

नेपालका मैदानमा रहेका दिपेश गुरुङ तथा बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड पाउँदा बंगलादेशका शाहिदुल इस्लाम दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो ।

उक्त तनावका कारण ४८ मिनेटदेखि ५३ मिनेट (पाँच मिनेट) खेल अवरुद्ध भएको थियो । त्यसपछि १०-१० जनामा दुवै टिम सीमित भएका थिए ।