काउन्टर अट्याक

काउन्टर अट्याक: ‘पहिला सेटिङ, त्यसपछि मिटिङ’

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दुई महिनाअघि भनेका थिए, ‘फुटबल विकासका लागि हामीले कुनै नयाँ एजेन्डा ल्याउनै पर्दैन । सबैकुरा विधानमा प्रष्टसँग उल्लेख छन् । हामीले विधानअनुसार काम गर्ने हो । त्यति गरे पुग्छ ।’

निर्वाचन हुनुभन्दा ठिक एक महिनाअघि गएको जेठ ६ गते तत्कालिन वरिष्ठ उपाध्यक्ष (हालका अध्यक्ष) पंकजविक्रम नेम्वाङ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा राईले दिएको जवाफ थियो त्यो । बडो तामझामसाथ तारे होटलमा गरिएको उम्मेदवारी घोषणा कार्यक्रममा नेम्वाङ पक्षले जिल्ला फुटबल संघ, सहिद स्मारक लिग खेल्ने क्लब, राष्ट्रिय लिगका क्लब र विभिन्न संघका गरि बहुमत मताधिकारप्राप्त सदस्यहरुको शक्ति प्रदर्शन गरेको थियो ।

पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष महेश विष्ट, सुनीलसम्शेर राणालगायतलाई साक्षी राखेर फुटबलको कायापलट गर्ने कसम खाइरहँदा त्यो बेला नेम्वाङ पक्षले प्रशासनिकवाहेक मैदानभित्रका विषय समेटेको थिएन । त्यही कारण पत्रकारहरुले प्रश्न गरे, ‘मैदानवाहिरका एजेन्डा त धेरै उठाउनुभयो । मैदानभित्र चाँही तपाईहरु जितेर आउनुभयो भने के गर्नुहुन्छ ?’

तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पासँग असन्तुष्ट यो समूहले चार वर्ष नेतृत्वको कमजोरीलाई बढाइचढाई बयान गरेरै त्यो ठूलो भिड जम्मा पारेको थियो । तत्कालिन अध्यक्ष शेर्पाले एकलौटी रुपमा एन्फा सञ्चालन गरे, फुटबल विकासका कार्यक्रमहरु उनीसँग केही भएन, भ्रष्टाचारमा नेतृत्व पूर्ण रुपमा लिप्त रहयो, कुशाषनले एन्फाको जग हल्लाइसक्यो । यस्तै मात्र थिए, नेम्वाङ पक्षले त्यो शक्ति प्रदर्शनमा प्रस्तुत गरेका एजेन्डा ।

पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष महेश विष्ट, सुनीलसम्शेर राणालगायतलाई साक्षी राखेर फुटबलको कायापलट गर्ने कसम खाइरहँदा त्यो बेला नेम्वाङ पक्षले प्रशासनिकवाहेक मैदानभित्रका विषय समेटेको थिएन । त्यही कारण पत्रकारहरुले प्रश्न गरे, ‘मैदानवाहिरका एजेन्डा त धेरै उठाउनुभयो । मैदानभित्र चाँही तपाईहरु जितेर आउनुभयो भने के गर्नुहुन्छ ?’

अनि उम्मेदवारी घोषणा कार्यक्रमका मुख्य हर्ताकर्ता राईले नेम्वाङबाट माइक तान्दै दिएको जवाफ थियो त्यो । चुनाव जित्नका लागि मतदाताहरुलाई आकर्षित गरे पुग्ने कुरा राम्ररी बुझेका राईहरुले सायद पत्रकारबाट त्यस्ता प्रश्नको अपेक्षा गरेका थिएनन् होला । नसोचेको प्रश्न अचानक आउँदा झस्किएर उनले दिएको जवाफ ‘फगत जवाफका लागि दिइएको रुखो वक्तव्य’जस्तो मात्र थियो ।

सबैका लागि फुटबल मतदाता आकर्षित गर्ने, चुनाव जित्ने, नेतृत्व हत्याउने र मोजमस्ती गर्ने उद्देश्यका लागि मात्र सीमित विषय होइन भन्ने कुरा कम्तिमा चुनाव जितेपछि उनीहरुले बुझ्लान भन्ने फुटबलप्रेमीको अपेक्षा थियो । खासमा फुटबल राजनीतिको रस चुसिरहेका केही दर्जन खेलाडीवाहेक लाखौं फुटबलप्रेमीको चासो भनेको मैदानभित्रको फुटबलमात्र हो । तर चुनाव सम्पन्न भएको डेढ महिना हुन लागिसक्दा पनि नयाँ कार्यसमितिबाट मैदानभित्रको फुटबलका लागि चुइक्क समेत आवाज बाहिर नआउँदा त्यो समूहसँग फुटबलका एजेन्डा नै थिएनन् की भन्ने जायज शंका उब्जिएको छ ।

शुसासनको नाराका साथ नेतृत्व हत्याएको वर्तमान कार्यसमितिले त्यसको पहिलो पाइलास्वरुप अनौपचारिक रुपमा बसेको पहिलो बैठकबाट महत्वपूर्ण नियुक्तिहरु गरेर आफूलाई प्रमाणित गरिसकेको छ । प्रक्रिया नपुगेको त्यही पहिलो बैठकको विवादास्पद निर्णयबाट राईले महासचिवमा नियुक्ति पाएका थिए ।

‘पहिला सेटिङ, त्यसपछि मिटिङ’को योजनाका साथ दुई पटक स्थगित गरिएको बैठक पुनः बस्नुअघि सेटिङ मिल्न सकेमात्र बिहीबार फेरि स्थगनबाट एन्फा कार्यसमिति बैठक जोगिनेछ । अन्यथा अघिल्ला दुई पटकजस्तै फुटबलका एजेन्डा फेरि अलपत्र पर्नेछन् । अनि अघिल्लो कार्यकालमा शेर्पाले कार्यसमिति छलेर काम गरे भनेर आरोप लगाएको नेतृत्वले महिला साफ च्याम्पियनसिप आयोजनाको तयारीमाझै एन्फाका सबै काममा आफूखुसी निर्णय गर्दै अघि बढ्नेछ । ‘बैठक बस्न नसकेको र समयाभावको कारण बाध्यतावश गर्नुपरेको काम’का रुपमा आफूअनुकुल व्याख्या गर्दै एन्फा एकलौटी पार्ने उद्देश्यमा समर्पित हुनेछ ।  

विधि र विधानको नाराजति घन्काउँदा पनि नथाक्ने समूहले औपचारिक रुपमा एउटै बैठक गर्न सकेको छैन । चुनावअघि गठजोड मिलाउँदा गरेका सहमतिअनुसार भागबण्डामा कुरो बिग्रिएको छ । त्यही कारण औपचारिक रुपमा बस्न लागेको बैठक दुई पटक स्थगित भइसकेको छ । फेरि अर्को बिहीबारका लागि त्यो स्थगित बैठक बोलाइएको छ । बिहीबारका लागि बोलाइएको बैठकमा यसअघिकै १९ एजेन्डामाथि छलफल हुने एन्फाले जनाएको छ । तर, पछिल्लो दुई पटक जस्तै एजेन्डा जे भए पनि फेरि बैठक भागबण्डामै केन्द्रित हुने पक्का छ ।

‘पहिला सेटिङ, त्यसपछि मिटिङ’को योजनाका साथ दुई पटक स्थगित गरिएको बैठक पुनः बस्नुअघि सेटिङ मिल्न सकेमात्र बिहीबार फेरि स्थगनबाट एन्फा कार्यसमिति बैठक जोगिनेछ । अन्यथा अघिल्ला दुई पटकजस्तै फुटबलका एजेन्डा फेरि अलपत्र पर्नेछन् । अनि अघिल्लो कार्यकालमा शेर्पाले कार्यसमिति छलेर काम गरे भनेर आरोप लगाएको नेतृत्वले महिला साफ च्याम्पियनसिप आयोजनाको तयारीमाझै एन्फाका सबै काममा आफूखुसी निर्णय गर्दै अघि बढ्नेछ । ‘बैठक बस्न नसकेको र समयाभावको कारण बाध्यतावश गर्नुपरेको काम’का रुपमा आफूअनुकुल व्याख्या गर्दै एन्फा एकलौटी पार्ने उद्देश्यमा समर्पित हुनेछ ।  

पटकपटक स्थगित हुँदै आएको नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिता, विभिन्न श्रेणीका लिग, राष्ट्रिय लिग, ललित स्मृति यु १८ फुटबल प्रतियोगिता, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने विषयले ‘पहिला सेटिङ, त्यसपछि मिटिङ’को उद्देश्यअनुसार अहिले भइरहेका अनौपचारिक छलफलमा पनि स्थान पाएका छैनन् ।

अनौपचारिक रुपमा गरिने सेटिङ जेसुकै होस, फुटबलप्रेमीलाई त्यसको कुनै वास्था छैन । खासमा फुटबल चलाउने भनेको एन्फाले हो । एन्फाको कार्यसमितिले नीति बनाउने हो र कर्मचारीले त्यसलाई कार्यान्वयन गर्ने हो । अहिले निर्वाचनबाट चुनिइसकेका १९ जनाबीचको औपचारिक बैठकले नेपाली फुटबल हाक्ने हो । त्यसकारण सेटिङलाई पाखा लगाउँदै यो १९ जनाले औपचारिक बैठकमै वैधानिक एजेन्डामाथि घनिभुत छलफल गरेर निर्णय गर्नुपर्छ ।

१९ जनाभन्दा बाहिरका अमुक पात्रहरुको नाममा वा इशारामा फुटबल चलाउन खोजे त्यो ठूलो दूर्भाग्य हुनेछ । नेपाली फुटबललाई कुनै अमुक पात्रको स्वार्थ वा नेतृत्वले आफ्नै स्वार्थका लागि कुनै अमुक पात्रको नाम लिएर भागबण्डाको बन्धक बनाइराख्ने छुट कसैलाई छैन । नेतृत्वले अझै पनि फुटबल सञ्चालनका लागि कार्यसमितिको विश्वास नगरि सुख छैन । अघिल्ला अध्यक्ष शेर्पाले चुनावअघि वर्तमान अध्यक्ष र उनको समूहलाई आरोप लगाएका थिए, ‘उहाँहरुसँग क्लब र जिल्ला फुटबल संघ चलाएको अनुभव छैन । उहाँहरुसँग फुटबलका एजेन्डा छैनन् । एन्फा चलाउन सक्नुहुन्न ।’

नेम्वाङ र उनको टिमले नेपाली फुटबलको आवश्यकता बुझेर काम गर्नु जरुरी छ । त्यो भनेको कार्यसमितिबाट निर्णय गराएरमात्र फुटबल अगाडि बढाउनुपर्छ । कार्यसमितिमाथि विश्वास नगरेर स्वार्थ समूहकै मुख ताक्ने हो भने शेर्पाको आरोपजस्तै आम फुटबलप्रेमीहरुले पनि भन्नेछन्, ‘एन्फाको यो कार्यसमितिसँग फुटबल विकासका एजेन्डा छैन । नेपाली फुटबल हाक्ने क्षमता पनि छैन ।’