साफ यु २० च्याम्पियनसिप

साफ यु २०: बंगलादेश फाइनलमा, नेपाल भारतको नतिजामा निर्भर

भुवनेश्वर । समूह चरणको अन्तिम खेलमा नेपालसँग १–१ गोलको बराबरी खेल्दै बंगलादेश साफ यु २० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी प्रतियोगिताको समूह चरणका चार खेलबाट १० अंक जोड्दै बंगलादेशले फाइनल यात्रा तय गर्यो ।

समान खेलमा सात अंक जोडेको नेपाल भने मंगलबार नै हुने माल्दिभ्स र भारतबीचको खेलको नतिजामा निर्भर भएको छ । उक्त खेलमा भारत पराजित भए मात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ ।

भारत र माल्दिभ्सबीचको खेल बराबरी मात्रै भए पनि नेपाल हेड टू हेडमा पछाडि पर्नेछ ।

मंगलबारको बंगलादेशविरुद्धको बराबरीसँगै गणितीय सम्भावना मात्रै बाँकी छ । प्रतियोगिताको साविक विजेता भारतसँग कमजोर आँकिएको माल्दिभ्सले अप्रत्यासित जित निकाले मात्रै नेपालले फाइनलमा स्थान बनाउने छ ।

बंगलादेशविरुद्ध सुरुआतदेखि नै आक्रामक शैलीमा प्रस्तुत भएको नेपालले गोलका लागि पर्याप्त अवसर सिर्जना गरे पनि फिनिसिङ प्रभावशाली नहुँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुआतमै बंगलादेशी खेलाडीले नेपाली मिडफिल्डर क्रितिश रत्न छुन्जुमाथि फाउल गरेपछि सिर्जना भएको तनावपूर्ण अवस्थापछि नेपालका दुई तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड पाएका थिए ।

नेपालका मैदानमा रहेका दिपेश गुरुङ तथा बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड पाउँदा बंगलादेशका शाहिदुल इस्लाम दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो ।

उक्त तनावका कारण ४८ मिनेटदेखि ५३ मिनेट (पाँच मिनेट) खेल अवरुद्ध भएको थियो । त्यसपछि १०–१० जनामा दुवै टिम सीमित भएका थिए ।

दबाबमा रहेको नेपाली टिमविरुद्ध ६४औं मिनेटमा अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । तर, त्यसको चार मिनेट नबित्दै नेपालका लागि निरञ्जन मल्लले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुवै टिमले अवसरको सिर्जना गरे पनि फिनिसिङ नहुँदा खेल बराबरीमा सकिएको हो ।